`

गोकर्णेश्वरको घुम्ती स्वास्थ्य सेवाः सार्वजनिक बिदा र दशैँको समयमा पनि घरमै पुगेर उपचार

Nepal One HD ३ कार्तिक २०८३ २०:११
समाचार

काठमाडौँ । सार्वजनिक बिदा, त्यसमाथि दशैँको समय। धेरैजसो स्वास्थ्य संस्था र कार्यालयमा चहलपहल कम छ। तर, गोकर्णेश्वर नगरपालिका–५ का रणकेशर डाँगीको घरमा भने शनिबार स्वास्थ्यकर्मीको टोली पुग्यो। अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका डाँगीका लागि स्वास्थ्यकर्मीको घरदैलो उपस्थितिले उपचारको आशा मात्रै जगाएन, स्थानीय सरकार नागरिकको दुःखमा साथ दिन घरसम्मै आइपुग्न सक्छ भन्ने अनुभूति पनि गरायो।

सन् २००८ मा वैदेशिक रोजगारीका क्रममा भएको सवारी दुर्घटनामा घाइते भएका डाँगी लामो समयदेखि शारीरिक समस्यासँग जुधिरहेका छन्। दुर्घटनामा परेपछि उनको स्वास्थ्यमा देखिएको समस्याले जीवनलाई सहज रूपमा अघि बढाउन कठिन बनाएको छ। पछिल्लो समय पुरानो स्वास्थ्य समस्या बल्झिएपछि उनलाई थप उपचार र थेरापीको आवश्यकता परेको थियो।

तर, शारीरिक असहजताका कारण अस्पतालसम्म पुगेर नियमित स्वास्थ्य सेवा लिनु उनका लागि सहज थिएन। यस्तो अवस्थामा गोकर्णेश्वर नगरपालिकाको घुम्ती स्वास्थ्य सेवा उनका लागि राहत बनेर आइपुग्यो।

शनिबार नगरपालिकाबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली डाँगीको घरमै पुग्यो। टोलीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आवश्यक स्वास्थ्य परीक्षण तथा थेरापी सेवासम्बन्धी परामर्श प्रदान गर्‍यो। डाँगीको घरमा पुगेको स्वास्थ्य टोलीसँगै गोकर्णेश्वर नगरपालिका–५ का वडा सदस्य श्रीबहादुर योगी पनि उपस्थित थिए।

एक साताअघि मात्रै गोकर्णेश्वर नगरपालिकाले घुम्ती स्वास्थ्य सेवा सुरु गरेको थियो। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त तथा विभिन्न कारणले स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गरी यो सेवा सञ्चालनमा ल्याइएको हो।

घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने अभियानलाई सहज बनाउन गोकर्णेश्वर नगरपालिकाले साधनको व्यवस्थापनमा समेत ध्यान दिएको छ। घुम्ती स्वास्थ्य सेवा सञ्चालनका लागि नगर प्रमुख दीपककुमार रिसालले नगर अस्पताललाई दुईवटा स्कुटर हस्तान्तरण गरेका थिए।घुम्ती स्वास्थ्य सेवाको उद्घाटन गर्दै नगर प्रमुख रिसालले भनेका थिए, ‘उपचारका लागि जसरी पनि अस्पताल आउनुपर्छ भन्ने बाध्यताबाट नागरिकलाई मुक्त बनाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *