नेपाल टेलिकमका सिमकार्ड अब हुलाकबाट घरमै पुग्ने
काठमाडौं। नेपाल टेलिकमका सिमकार्ड तथा दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न सामग्री अब हुलाक सेवामार्फत सेवाग्राहीको घरमै पुर्याइने भएको छ।
नेपाल टेलिकम र हुलाक सेवा विभागबीच भएको नयाँ सम्झौतासँगै आगामी साउन १ गतेदेखि यो सेवा औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो।
सरकारी स्वामित्वका दुई संस्थाबीच भएको सहकार्यले टेलिकम सेवा वितरणलाई अझ सहज, छरितो र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ। विशेषगरी कार्यालयसम्म पुग्न कठिन हुने सेवाग्राहीलाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था लागू गर्न लागिएको नेपाल टेलिकमले जनाएको छ।
सम्झौताअनुसार हुलाक सेवा विभागले नेपाल टेलिकमका नयाँ सिमकार्ड, विभिन्न आधिकारिक कागजात, चिठीपत्र तथा दूरसञ्चार सेवामा प्रयोग हुने स्पेयर पार्ट्सलगायत सामग्री देशभर ढुवानी गर्नेछ।
देशभर फैलिएको हुलाक सेवाको सञ्जाल प्रयोग गरी सामग्री सुरक्षित र व्यवस्थित रूपमा सेवाग्राहीसम्म पुर्याउने व्यवस्था मिलाइएको जनाइएको छ।
बिहीबार सम्पन्न सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै दुवै संस्थाले सार्वजनिक सेवा वितरणलाई आधुनिक र नागरिकमैत्री बनाउने दिशामा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्झौतापछि बोल्दै नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले सेवाग्राहीलाई कार्यालयमा उपस्थित नभई नै आवश्यक सेवा उपलब्ध गराउने लक्ष्यअनुसार कम्पनीले विभिन्न व्यवस्था गर्दै आएको बताइन्।
उनले हुलाक सेवा विभागसँगको सहकार्यपछि सेवाग्राहीले अझ सहज रूपमा टेलिकमका सेवा तथा सामग्री प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरिन्।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले विभागले नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने उद्देश्यअनुसार विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरिन्।
उनका अनुसार नेपाल टेलिकमसँगको सहकार्य पनि सोही अभियानको निरन्तरता हो। आगामी दिनमा सेवाग्राहीलाई अझ प्रभावकारी, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउन दुवै संस्थाबीचको सहकार्य थप विस्तार हुँदै जाने विश्वास उनले व्यक्त गरिन्।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार सरकारी स्वामित्वका दुई संस्थाबीचको सहकार्यले देशभर रहेको हुलाक सेवाको पूर्वाधारलाई उपयोग गर्दै टेलिकमका सामग्री र सेवाको वितरणलाई अझ प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
उनले यो व्यवस्थाले सेवा वितरणको पहुँच विस्तार गर्नुका साथै सेवाग्राहीलाई छिटो, भरपर्दो र सहज रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए।
