प्रधानमन्त्री बालेनलाई आङ्देम्बेकाे कटाक्ष- धुरी चढेपछि सिँडी भुल्नु हुँदैन
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदकाे अवमूल्यन गरेकाे भन्दै ‘धुरी चढेपछि सिँडी भुल्नु हुँदैन’ भन्दै कटाक्ष गरेका छन् ।
साेमबार प्रतिनिधिसभा बैठकमा सरकारकाे सय दिनको समीक्षा गर्दै आङ्देम्बेले प्रधानमन्त्री शाह संसदको विश्वासबाट सरकारको नेतृत्वमा पुगे पनि त्यसै संसदप्रति आवश्यक उत्तरदायित्व नदेखाएको आरोप लगाए।
उनले संसदलाई लोकतन्त्रको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएको स्मरण गराउँदै प्रधानमन्त्रीले त्यसको गरिमा जोगाउनुपर्ने बताए।
आङ्देम्बेले भने, ‘विगत सय दिनमा प्रधानमन्त्रीज्यूको कार्यशैली हेरेपछि म प्रधानमन्त्रीज्यूलाई स्मरण गराउँछु कि धुरीमा चढेपछि सिँडी भुल्नु हुँदैन। तपाईं सत्ताको धुरी चढ्ने अनि तपाईंलाई धुरीमा पुर्याउने संसद बिर्सिने? संसदलाई अवमूल्यन गर्ने?’
उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर जनप्रतिनिधिका प्रश्नको सामना गर्नुभन्दा सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह गर्न बढी रुचि देखाएको आरोप पनि लगाए। संसदलाई बेवास्ता गर्ने प्रवृत्तिले संसदीय लोकतन्त्र कमजोर बन्ने उनको तर्क थियो।
आङ्देम्बेले प्रधानमन्त्रीसँग प्रश्न गर्दै भने, ‘यदि संसद नै तपाईंको प्राथमिकतामा पर्दैन भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ? यदि प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ?’
उनले संसद सरकार गठन गर्ने, सरकारलाई विश्वासको मत दिने र सरकारलाई निरन्तर जवाफदेही बनाउने संवैधानिक संस्था भएकाले त्यसलाई अवमूल्यन गर्ने कुनै पनि प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि शुभ संकेत नभएको बताए।
सरकारको सय दिनको कार्यशैलीमाथि टिप्पणी गर्दै आङ्देम्बेले सत्ता प्राप्तिपछि संसदसँगको संवाद कमजोर बनाउने र संसदप्रतिको उत्तरदायित्वबाट टाढिने प्रवृत्तिले लोकतान्त्रिक मूल्य र संसदीय संस्कृतिमाथि प्रश्न उठाएको दाबी गरे।
