प्रधानमन्त्रीजी ! भाइरल हुन सजिलो छ, देश चलाउन गाह्रो छ : आङ्देम्बे
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जालमा लोकप्रियता खोज्नुभन्दा राज्य सञ्चालनमा गम्भीर बन्न आग्रह गरेका छन्।
उनले लोकतन्त्रमा लोकप्रियता र उत्तरदायित्व फरक विषय भएको भन्दै प्रधानमन्त्रीले ‘भाइरल राजनीति’ त्याग्नुपर्ने धारणा राखे।
प्रतिनिधिसभामा सरकारको पहिलो सय दिनको समीक्षा गर्दै आङ्देम्बेले सामाजिक सञ्जालमा चर्चित हुनु मात्र सफल नेतृत्वको मापदण्ड नहुने बताए। उनले प्रधानमन्त्रीलाई लोकप्रियता र प्रसिद्धिबीचको भिन्नता बुझ्न पनि आग्रह गरे।
आङ्देम्बेले भने, ‘लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै कुरा होइन। सँगै म स्मरण गराउन चाहन्छु-प्रख्यात हुनु र लोकप्रिय हुनु पनि एउटै होइन। अझै बुझ्नेगरी भन्नु पर्दा फेमस हुँदै गर्दा लोकप्रिय भएँ भनेर भ्रमपूर्ण जिन्दगी पनि हामी कटाइरहेका हुन्छौँ।’
उनले सामाजिक सञ्जालमा भाइरल हुनुभन्दा देश सञ्चालनको जिम्मेवारी धेरै कठिन हुने उल्लेख गर्दै प्रधानमन्त्रीलाई कार्यशैली परिवर्तन गर्न सुझाव दिए।
‘म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु-सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर भएर कार्य गर्न गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू, तपाईंले भाइरल हुने बाटो त्याग्नुहोस्, बिर्सिदिनुहोस्। तपाईं देशको प्रधानमन्त्री भइसक्नुभएको छ,’ आङ्देम्बेले भने।
उनले प्रधानमन्त्रीलाई लोकप्रियताभन्दा सुशासन, उत्तरदायित्व र नीतिगत नेतृत्वमा केन्द्रित हुन आग्रह गर्दै मुलुकको नेतृत्व सावधानीपूर्वक गर्नुपर्ने बताए।
आङ्देम्बेले भने, ‘प्रधानमन्त्रीका रूपमा मुलुकलाई सही ढङ्गले ड्राइभ गर्नुहोस्। एक्सप्रेस वेमा नै ड्राइभ गर्नुहोस् तर निकै सम्हालिएर। दुर्घटनामा पर्दा तपाईं मात्रै होइन, सिङ्गो देश दुर्घटनामा पर्छ।’
सरकारको सय दिनको कार्यसम्पादनमाथि टिप्पणी गर्दै आङ्देम्बेले प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत छवि निर्माण गर्नुभन्दा संसद, संविधान र लोकतान्त्रिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।
उनले मुलुकको नेतृत्व लोकप्रिय नाराभन्दा विवेकपूर्ण निर्णय, संस्थागत उत्तरदायित्व र गम्भीर शासनशैलीबाट सफल हुने धारणा व्यक्त गरे।
