`

‘खुट्टा सुल्टो, जुत्ता उल्टो लगाएर प्रधानमन्त्रीजी गन्तव्यमा पुगिँदैन’

Nepal One HD २२ असार २०८३ १३:२०
नेपाली कांग्रेस

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकाे कार्यशैलीमाथि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले व्यङ्ग्यात्मक टिप्पणी गर्दै लोकतान्त्रिक प्रक्रियाबाट सत्तामा पुगे पनि शासन सञ्चालनको शैली भने लोकतान्त्रिक मूल्य र मान्यताअनुकूल नरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभामा साेमबार सरकारको पहिलो सय दिनको समीक्षा गर्ने क्रममा आङ्देम्बेले प्रधानमन्त्रीले संवाद, सहमति र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको टिप्पणी गरे।

राष्ट्रिय महत्वका विषयमा सबै पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा सरकारले त्यसको उल्टो बाटो रोजेको उनको भनाइ थियो।

आङ्देम्बेले भने, ‘स्मरण रहोस्- खुट्टा सुल्टो, जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन। लोकतान्त्रिक बाटो सुल्टो हो। सुल्टो बाटोबाट आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ, सही गन्तव्यमा पुग्न सकिँदैन।’

उनले लोकतन्त्रको आधार संवाद, सहमति र असहमतिप्रतिको सम्मान भएको उल्लेख गर्दै सरकारको सय दिनको कार्यशैली भने त्यसको विपरीत देखिएको दाबी गरे।

‘लोकतन्त्र संवादबाट चल्छ, सहमतिबाट अघि बढ्छ र असहमतिलाई पनि सम्मान गर्छ। तर विगत सय दिनमा सरकारको कार्यशैली हेर्दा संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो,’ आङ्देम्बेले भने ।

प्रधानमन्त्रीलाई लोकतान्त्रिक मूल्यअनुसार शासन सञ्चालन गर्न आग्रह गर्दै उनले सही गन्तव्यमा पुग्न गति मात्र पर्याप्त नहुने, सही बाटो पनि उत्तिकै आवश्यक हुने बताए।

‘गन्तव्यमा पुग्न सुल्टै बाटो हिँड्नुपर्छ। छिटो हिँडेर मात्रै पुगिँदैन, हिँड्ने बाटो सही हुनुपर्छ,’ उनले भने।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *