`

कांग्रेस सा‌सद काउचाले खाेजिन्- जेनजी आन्दोलनकाे अर्बौँ क्षतिको हिसाब

Nepal One HD २२ असार २०८३ १४:४४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले जेनजी आन्दोलनका क्रममा भएको सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिकाे हिसाब खाेजेकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै काउचाले वर्तमान संसद जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रमको उपज भए पनि आन्दोलनका क्रममा भएको अर्बौँ रुपैयाँको क्षति र त्यसको यथार्थ अवस्था अझै अस्पष्ट रहेको बताइन्।

उनले भनिन्, ‘अहिले हामी यस्तो सम्मानित सदनमा उभिरहेका छौँ, जुन भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको उपज हो। तर जेनजी आन्दोलनका नाममा भएको सरकारी, सार्वजनिक र निजी सम्पत्तिको अर्बौँको क्षतिको प्रश्नहरू अझै पनि अनुत्तरित छन्। सरकारसँग तथ्य छैन कि तथ्य लुकाइएको छ? यो प्रश्न आज नागरिकहरूले उठाइरहेका छन्।’

काउचाले सरकारले आन्दोलनसँग सम्बन्धित विभिन्न विषयमा संसदलाई जवाफ दिनुपर्ने माग गर्दै ध्वस्त भएका संरचनामध्ये कति पुनर्निर्माण भए, शहीद घोषणा गरिएका परिवार र घाइतेहरूको अवस्था कस्तो छ, लुटिएका हतियारमध्ये कति फेला परे र कति अझै हराइरहेका छन् तथा जेलबाट फरार भएका कैदीमध्ये कति पक्राउ परे र कति अझै फरार छन् भन्ने विवरण सार्वजनिक गर्न आग्रह गरिन्।

उनले भनिन्, ‘यी विषय राष्ट्रिय सुरक्षा र कानुनी शासनसँग प्रत्यक्ष रूपमा जोडिएका गम्भीर सवाल भएकाले म सरकारसँग विस्तृत जवाफको अपेक्षा गर्दछु,’ उनले भनिन्।

काउचाले सरकारले भाषण र घोषणाले जनताकाे विश्वास जित्ने नभई जवाफदेहिता र पारदर्शिताबाट जित्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘सरकारले जनताको विश्वास जित्न चाहन्छ भने घोषणाले होइन, जवाफदेहिताले जित्नुपर्छ। भाषणले होइन, सत्य सार्वजनिक गरेर जित्नुपर्छ। सुशासनका नाराले होइन, कानुनको निष्पक्ष कार्यान्वयनबाट जित्नुपर्छ।’

उनले जेनजी आन्दोलनसँग जोडिएका सबै तथ्य संसद र जनतासामु पारदर्शी रूपमा सार्वजनिक गर्न सरकार गम्भीर बन्नुपर्ने माग गर्दै आफ्नो सम्बोधन टुंग्याइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *