गणेश नेपाली मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाबारे निष्पक्ष र गम्भीर छानबिन गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राज्यका निकायबाट हुने दुर्व्यवहार र प्रताडनाका कारण नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य हुने अवस्था आउनु अत्यन्तै गम्भीर विषय भएको बताए।
उनले गणेश नेपालीका परिवारले महानगर प्रहरीबाट भएको प्रताडनाका कारण उनी मानसिक तनावमा रहेको दाबी गरेको उल्लेख गर्दै घटनाबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताए।
‘महानगर प्रहरीले गर्ने प्रताडनाका कारण गणेश नेपाली पीडामा रहेको र त्यसकै कारण उनी डिप्रेसनमा पुगेको परिवारको भनाइ आएको छ। घटनाबारे अनुसन्धान भइरहेको होला र सत्यतथ्य बाहिर आउला,’ उनले भने, ‘तर आफूलाई शक्तिशाली देखाउने नाममा राज्य वा राज्यका कुनै पनि निकायले श्रम गरेर जीविका चलाउने मजदुरमाथि दुर्व्यवहार गर्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। राज्य सधैँ श्रमिक र नागरिकको पक्षमा उभिनुपर्छ, तर पछिल्ला घटनाले त्यसको विपरीत अवस्था देखाएको छ।’
आङ्देम्बेले गणेश नेपालीले अन्तिम समयसम्म परिवारलाई आफू अन्यायमा परेको बताएको उल्लेख गर्दै घटनाको वास्तविक कारण सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।
‘गणेशले बोल्न सकुञ्जेल परिवारलाई आफू प्रताडित भएको बताएका रहेछन्। त्यसैले यो घटनाको गम्भीर, निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान गरेर वास्तविकता सार्वजनिक गर्नुपर्छ। यस्ता घटना दोहोरिन नदिन पनि सरकारले आवश्यक कदम चाल्नुपर्छ,’ उनले भने।
राइड–सेयरिङ चालकहरू स्वरोजगार श्रमिक भएको उल्लेख गर्दै उनले उनीहरूमाथि हुने दुर्व्यवहार तत्काल रोक्नुपर्ने बताए।
‘राइड–सेयरिङ प्लेटफर्म दुई छाक खानका लागि मेहनत गरेर परिवार पाल्ने श्रमिकहरूको जीविकोपार्जनको माध्यम हो। यस्ता श्रमिकलाई सडक किनारमा मोटरसाइकल पार्किङ गरेको भन्दै अपमानित गर्ने वा दुर्व्यवहार गर्ने कार्य उचित होइन,’ उनले भने।
आङ्देम्बेले गणेश नेपालीको मृत्यु प्रकरणमा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, घटनाको निष्पक्ष छानबिन गर्न तथा भविष्यमा राइड–सेयरिङ चालकहरूमाथि हुने दुर्व्यवहार रोक्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।
