गणेश नेपालीको मृत्युपछि धुर्मुसले भने – ‘गणेशमा आफ्नै प्रतिबिम्ब देख्छु’
काठमाडौं। हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया दिएका छन्।
धुर्मुसले गणेश नेपालीको घटनाले आफूलाई गहिरो रूपमा छोएको उल्लेख गर्दै उनीमा आफ्नै प्रतिबिम्ब देखेको बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बीच बाँचिरहेको म, गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु। राज्य सबै नागरिकको साँचो अभिभावक बनोस्। देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण बनोस्।’
उनले भविष्यमा कुनै पनि नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाहजस्तो कदम रोज्नुपर्ने अवस्था नआओस् भन्ने कामना पनि व्यक्त गरेका छन्।
‘फेरि कुनै नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नुपर्ने अवस्था कहिल्यै नआओस्,’ उनले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।
गणेश नेपालीको निधनपछि विभिन्न क्षेत्रका व्यक्तिहरूले घटनाप्रति दुःख व्यक्त गर्दै राज्यले श्रमिक, युवा तथा सर्वसाधारण नागरिकका समस्याप्रति थप संवेदनशील हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका छन्।
