‘प्रेम आचार्यका बेला प्रश्न गर्ने प्रधानमन्त्री अहिले किन मौन ?’
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको विषय प्रतिनिधिसभामा उठेको छ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले समय माग गर्दै सरकारसँग घटनाबारे जवाफ मागिन्।
उनले गणेश नेपालीको मृत्यु प्रकरणलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गर्दै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई लक्षित गर्दै प्रश्न उठाइन्।
थापाले नयाँ बानेश्वरमा प्रेम आचार्यले आत्मदाह गरेपछि तत्कालीन सरकारसँग प्रश्न गर्ने प्रधानमन्त्री बालेन अहिले आफ्नै सरकारको पालामा भएको घटनामा किन मौन रहेको भन्दै जवाफ मागिन्।
‘नयाँ बानेश्वरमा प्रेम आचार्यले आत्मदाह गर्दा सरकारलाई प्रश्न गर्ने प्रधानमन्त्री अहिले किन बोल्न सक्नुभएको छैन ? त्यसको उत्तर दिन अहिले किन गाह्रो भइरहेको छ ?’ भन्दै उनले सरकारको धारणा संसद्मा स्पष्ट पार्न माग गरिन्।
गणेश नेपालीको मृत्यु प्रकरणबारे निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही गर्न पनि उनले सरकारसँग माग गरिन्।
