मुगुका सांसद शाही भन्छन् -‘सरकारले गणेशको लासमाथि स्टन्टबाजी गर्यो’
काठमाडौं। नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारले ‘हैकमवाद’ र ‘स्टन्टबाजी’ गरेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै मुगुबाट निर्वाचित सांसद शाहीले गणेश नेपालीको उपचार र मृत्युबारे सरकारले पारदर्शी ढंगले काम नगरेको दाबी गरे।
उनले घटनालगत्तै आफूले संसद्मा सरकारको ध्यानाकर्षण गराएको स्मरण गर्दै बिहीबार राति प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेसँगै वीर अस्पताल पुगेको बताए।
‘सरकारले गणेशप्रति नाटक गर्यो । हिजो बेलुका म त्यहाँ (वीर अस्पताल) गएको थिएँ । चिकित्सकले नै उहाँको ९५ प्रतिशत बाँच्ने सम्भावना छैन भन्नुभएको थियो,’ शाहीले भने।
उनले गृहमन्त्री सुधन गुरुङले राति अस्पताल पुगेर उपचारका लागि नयाँदिल्ली लैजाने तयारी भएको सार्वजनिक गरे पनि त्यसलाई ‘स्टन्टबाजी’को संज्ञा दिए।
‘उहाँले गर्न खोज्नुभएको प्रयास होला, ठीक छ । तर गणेश नेपाली राति नै बितिसकेका रहेछन् । बिहानसम्म घोषणा गरिएन,’ उनले भने।
सांसद शाहीले अस्पतालले वास्तविक अवस्था लुकाउन खोजेको आरोपसमेत लगाए।
‘हामी भीष्मराज आङ्देम्बे र म गइसकेपछि शैयामा राखिएको शव देख्यौँ । त्यसपछि पनि स्वास्थ्यमन्त्री र अस्पतालका चिकित्सकहरूले किन घोषणा गर्नुभएन ? मान्छेको मृत्यु भइसकेको छ, तर पत्रकार सम्मेलन गरेर उपचार भइरहेको छ भन्नुहुन्छ । मान्छेको मृत्यु भइसकेपछि केको पत्रकार सम्मेलन ?’ उनले प्रश्न गरे।
शाहीले गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि गरे।
