`

जब संसदमै लाग्यो ‘सरकार मुर्दावाद’को नारा

Nepal One HD २६ असार २०८३ १४:३१
बिशेष

काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युलाई राज्यद्वारा गरिएको हत्या भएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले सरकारको कार्यशैलीको कडा आलोचना गर्दै नागरिकलाई निराशाको चरम बिन्दुसम्म पुर्‍याउने काम राज्यबाट भइरहेको दाबी गरे।

‘स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्छ । राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँमा पुर्‍याएको छ । सुकुम्बासी हुन् वा गणेश नेपाली, नागरिकलाई जबर्जस्ती मृत्युको मुखमा धकेल्ने काम राज्यले गरिरहेको छ । यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ,’ महरले भने।

उनले गृहमन्त्री र सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार वास्तविक समस्या समाधानभन्दा प्रचारमुखी गतिविधिमा केन्द्रित भएको आरोप लगाए।

महरले ऐतिहासिक प्रसंग उल्लेख गर्दै निरंकुश राणा शासनको विरोधमा योगमाया न्यौपानेले जलसमाधि लिएको स्मरण गराए।

‘योगमाया न्यौपानेको जलसमाधिले राणा शासन ढल्यो भने गणेश नेपालीको आत्मदाहका कारण यो सरकारले पनि ठूलो मूल्य चुकाउनुपर्नेछ । यो हत्याको जिम्मेवार यो सरकार नै हो,’ उनले भने।

आफ्नो भनाइको अन्त्यमा महरले सरकारविरुद्ध नाराबाजी गर्दै ‘यो सरकार मुर्दावाद’ भन्ने नारा समेत लगाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *