‘गणेश नेपाली प्रकरणमा उच्चस्तरीय छानबिन गरियोस्’ : रास्वपा सचेतक परियार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाबारे निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै परियारले घटनाको सत्यतथ्य बाहिर ल्याउन राज्य गम्भीर हुनुपर्ने बताए। उनले घटनाबाट पीडित परिवारलाई राहत, क्षतिपूर्ति तथा दीर्घकालीन भरणपोषणको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे।
‘यो घटनामा राज्यले उच्चस्तरीय छानबिन गरोस्। परिवारका लागि क्षतिपूर्ति, राहत, परिपूरण र भरणपोषणका निम्ति राज्यले उदार छाती देखाओस्,’ उनले संसदमा भने।
परियारले यस्ता घटनाले राज्य र नागरिकबीचको सम्बन्ध तथा सार्वजनिक निकायको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै सत्यतथ्य पत्ता लगाएर आवश्यक कदम चाल्नुपर्ने धारणा राखे।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो।
घटनापछि सामाजिक सञ्जालदेखि संसदसम्म व्यापक चर्चा भइरहेको छ। विभिन्न राजनीतिक दलका नेता, सांसद तथा नागरिक समाजका प्रतिनिधिहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।
