गणेश नेपालीको मृत्युपछि माइतीघरबाट लखेटिए आरेन राई
काठमाडौं। राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएपछि काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन चर्किएको छ। प्रदर्शनका क्रममा राष्ट्रिय श्रम संस्कृति पार्टीका सांसद आरेन राईविरुद्ध प्रदर्शनकारीहरूले नाराबाजी गरेका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार गणेश नेपालीको मृत्युपछि न्यायको माग गर्दै माइतीघरमा राइडर, विस्थापित परिवार तथा सर्वसाधारण स्वतःस्फूर्त रूपमा भेला भएका थिए। उनीहरूले सरकार र महानगर प्रहरीको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका थिए।
यसैबीच नागरिक बचाउ महाअभियानको मञ्चमा उक्लिएर सम्बोधन गर्न खोजेका सांसद राईको विरोध भएको बताइएको छ। प्रदर्शनकारीहरूले ‘राजनीति गर्न पाइँदैन’, ‘निर्दोष युवाको लासमाथि राजनीति गर्न पाइँदैन’ र ‘राजनीतिक दलहरू मुर्दावाद’ जस्ता नाराबाजी गरेका थिए।
प्रदर्शन चर्किएपछि सांसद राई त्यहाँबाट बाहिरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
मुगुका गणेश नेपालीले बिहीबार काठमाडौंस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए। उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। घटनापछि काठमाडौंमा विभिन्न समूहले न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन्।
यता संसद्भित्र पनि घटनालाई लिएर सत्ता पक्ष र विपक्षीबीच आरोप–प्रत्यारोप भइरहेको छ भने सडकमा प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन्।
नागरिक बचाउ महाअभियानका संयोजकहरूले आन्दोलन पीडित परिवारलाई न्याय दिलाउने र स्वरोजगार श्रमिकहरूको अधिकार सुनिश्चित गराउने उद्देश्यले सञ्चालन गरिएको दाबी गर्दै कुनै पनि राजनीतिक दललाई आन्दोलनको मञ्च राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न नदिइने बताएका छन्।
