काठमाडौंको बुद्धनगरमा एक पुरुषद्वारा आत्मदाहको प्रयास
काठमाडौं। काठमाडौं महानगरपालिका-१० बुद्धनगरमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुद्धनगरस्थित एक घरमा डेरा गरी बस्ने ४५ वर्षीय अश्विन राउतले शुक्रबार बिहान शरीरमा आगो लगाएका हुन्।
प्रहरीका अनुसार राउत र उनका बाबुबीच घरायसी विषयमा विवाद भएको थियो। विवादपछि उनी भान्सामा गएर आफ्नै शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनामा राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यसअघि बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो।
त्यसैगरी शुक्रबार नै सर्लाहीका विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए।
गम्भीर अवस्थामा रहेका उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याई उपचार भइरहेको छ।
