`

बुद्धनगरमा आत्मदाहको प्रयास गर्ने को हुन् ?

Nepal One HD २७ असार २०८३ १३:१४
बिशेष

काठमाडौं। काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित आफ्नै निवासमा शनिबार आत्मदाहको प्रयास गरेका ५० वर्षीय अश्विनकुमार राउत पछिल्लो समय व्यवसायिक समस्या र आर्थिक तनावबाट गुज्रिरहेको पारिवारिक स्रोतले जनाएको छ।

स्रोतका अनुसार राउतले सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि तथा दिव्यश्री ट्रेड कन्सर्न प्रालि सञ्चालन गर्दै आएका थिए। उनले नदी नियन्त्रण तथा संरक्षणका लागि प्रयोग हुने ग्याभिन तारजाली उत्पादन गर्नुका साथै चीनबाट फ्रिज, पंखालगायत विद्युतीय सामग्री आयात गर्ने व्यवसाय गर्दै आएका थिए।

पछिल्लो समय व्यवसायमा आएको मन्दी र आर्थिक दबाबका कारण उनी तनावमा रहेको परिवारको भनाइ छ।

राउत सिराहाको लहानका स्थायी बासिन्दा हुन्। हाल उनी बुद्धनगरस्थित बुद्ध विहार नजिकै रहेको आफ्नै घरमा बस्दै आएका थिए। आत्मदाहको प्रयास पनि सोही घरमा भएको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा छोरासँग भएको विवादपछि उनले आत्मदाहको प्रयास गरेको जनाएको छ। तर पारिवारिक स्रोतले भने छोराको स्वभाव झगडालु नरहेको र घटनाको पछाडि लामो समयदेखिको आर्थिक तथा व्यवसायिक तनाव प्रमुख कारण हुन सक्ने दाबी गरेको छ।

परिवारका अनुसार व्यवसायमा समस्या बढ्दै गएपछि उनले ललितपुरको भैँसेपाटीमा रहेको जग्गा बिक्री गरेर आर्थिक व्यवस्थापन गर्ने प्रयास गरेका थिए। तर विभिन्न कारणले जग्गा बिक्री हुन नसकेपछि उनी थप मानसिक दबाबमा परेका थिए।

व्यवसायबाहेक राउत सामाजिक क्षेत्रमा पनि सक्रिय थिए। उनी राउत क्षेत्री सेवा समाजका अध्यक्षका रूपमा समेत कार्यरत छन्।

समाजका सचिव रोशन राउतका अनुसार घटना भएको समयमा राउतकी श्रीमती र छोरा घरबाहिर थिए। घरमा एक्लै रहेका बेला उनले आफ्नै शरीरमा आगो लगाएको बताइएको छ।

परिवारका अनुसार उनी केही समयअघि भारतमा स्वास्थ्य उपचार गराएर नेपाल फर्किएका थिए। अहिले उनको शरीरको आधाभन्दा बढी भाग जलेको अवस्थामा काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *