विश्वभर महिलामा प्रजनन क्षमता घट्दै
काठमाडौं। उच्च शिक्षा, व्यावसायिक करियर, आर्थिक आत्मनिर्भरता र बदलिँदो जीवनशैलीका कारण सन्तान जन्माउने निर्णय पछाडि सार्ने प्रवृत्ति विश्वभर तीव्र रूपमा बढिरहेको छ।
तर यही परिवर्तनसँगै महिलाहरूमा प्रजनन क्षमता घट्दै जानु र बाँझोपनको समस्या बढ्नु अहिले विश्व स्वास्थ्यका लागि गम्भीर चिन्ताको विषय बनेको छ।
हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनले ३५ देखि ४९ वर्ष उमेर समूहका करोडौं महिलाले गर्भधारण गर्न कठिनाइ भोगिरहेको देखाएको छ। अध्ययनले समयमै परिवार विस्तार नगर्दा उमेरसँगै प्राकृतिक रूपमा प्रजनन क्षमता घट्ने भएकाले ढिलो मातृत्वको निर्णयले धेरै महिलालाई चुनौतीमा पारिरहेको निष्कर्ष निकालेको छ।
विश्व स्वास्थ्यसम्बन्धी प्रतिष्ठित वैज्ञानिक जर्नल द ल्यान्सेट अब्स्टेट्रिक्स, गायनोकोलोजी एन्ड वुमेन्स हेल्थ मा प्रकाशित अनुसन्धानअनुसार हाल विश्वभर करिब ५ करोड ३६ लाख महिलाले बाँझोपनको समस्या सामना गरिरहेका छन्। अनुसन्धानका लागि सन् १९९० देखि २०२३ सम्म विश्वका २०४ देशका स्वास्थ्यसम्बन्धी तथ्याङ्कको विश्लेषण गरिएको थियो।
अध्ययनले महिलाको जैविक प्रजनन क्षमता उमेरसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको देखाएको छ। सामान्यतया ३५ वर्षपछि डिम्बको सङ्ख्या र गुणस्तर दुवै घट्न थाल्छ। ४० वर्ष पार गरेपछि यो क्षमता अझ तीव्र रूपमा कम हुँदै जान्छ, जसका कारण स्वाभाविक रूपमा गर्भ रहन कठिन हुन सक्छ।
यही आधारमा अनुसन्धानमा सहभागी महिलालाई ३५–३९, ४०–४४ र ४५–४९ वर्ष गरी तीन समूहमा वर्गीकरण गरिएको थियो। नियमित वैवाहिक वा असुरक्षित यौनसम्पर्कका बाबजुद १२ महिनासम्म गर्भधारण हुन नसकेको अवस्थालाई बाँझोपनको मापदण्डका रूपमा लिइएको थियो।
अनुसन्धानअनुसार सन् १९९० मा प्रति एक लाख महिलामध्ये करिब ६ हजार १ जनामा बाँझोपन देखिएको थियो। यो दर सन् २०२३ सम्म आइपुग्दा बढेर ६ हजार ९०७ पुगेको छ।
अनुसन्धानकर्ताहरूले भविष्यप्रति पनि चिन्ता व्यक्त गरेका छन्। अहिलेको प्रवृत्ति यथावत् रहे सन् २०३६ सम्म बाँझोपनबाट प्रभावित महिलाको सङ्ख्या बढेर करिब ७ करोड ९६ लाख पुग्न सक्ने अनुमान गरिएको छ।
विश्वका धेरै विकसित मुलुकमा महिलाहरूले उच्च शिक्षा पूरा गर्ने, करियर स्थापित गर्ने, आर्थिक रूपमा आत्मनिर्भर बन्ने र व्यक्तिगत जीवनलाई प्राथमिकता दिने क्रममा विवाह तथा मातृत्वलाई पछाडि सार्ने प्रवृत्ति तीव्र रूपमा बढेको अध्ययनले देखाएको छ।
पछिल्ला तीन दशकमा महिलाको शिक्षा र रोजगारीमा उल्लेखनीय वृद्धि भएको छ। यसले महिलालाई आर्थिक रूपमा सशक्त बनाएको भए पनि परिवार विस्तार गर्ने उमेर क्रमशः बढ्दै गएको देखिन्छ।
युरोपका धेरै देशमा पहिलो सन्तान जन्माउने आमाको औसत उमेर ३० वर्षभन्दा माथि पुगेको छ। केही देशमा त ४० वर्षभन्दा माथिका महिलाबाट जन्मिने शिशुको सङ्ख्या किशोर उमेरमा आमा बन्ने महिलाभन्दा धेरै भएको तथ्याङ्कले देखाएको छ। केही दशकअघि भने अवस्था यसको ठीक उल्टो थियो।
बाँझोपनको समस्या बढ्नुमा उमेर मात्र कारण नभएको अध्ययनले देखाएको छ। आधुनिक जीवनशैली, मानसिक तनाव, अनियमित खानपान, मोटोपन, कम शारीरिक गतिविधि, वातावरणीय प्रदूषण तथा केही दीर्घरोगले पनि प्रजनन क्षमतामा असर पार्ने देखिएको छ।
यद्यपि, पछिल्ला वर्षहरूमा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना बढ्दै जाँदा धेरै महिलाले समयमै परीक्षण गराउने र समस्या पहिचान हुने क्रम पनि बढेको अनुसन्धानले उल्लेख गरेको छ।
अध्ययनले नेपालका लागि भने केही सकारात्मक संकेत दिएको छ। सन् २०२३ को तथ्याङ्कअनुसार विश्वका धेरै देशको तुलनामा नेपालमा बाँझोपनको भार न्यून रहेको उल्लेख गरिएको छ।
यसको प्रमुख कारण तुलनात्मक रूपमा कम उमेरमै विवाह तथा परिवार विस्तार गर्ने सामाजिक परम्परा, पारिवारिक संरचना र मातृत्व ढिलो गर्ने प्रवृत्ति अझै सीमित हुनु हुन सक्ने विश्लेषण गरिएको छ।
यद्यपि शहरीकरण, वैदेशिक रोजगारी, उच्च शिक्षा र करियरप्रतिको आकर्षण बढ्दै जाँदा नेपालमा पनि विवाह र पहिलो सन्तान जन्माउने उमेर क्रमशः बढिरहेको देखिएकाले भविष्यमा यसतर्फ सचेत हुनुपर्ने आवश्यकता औँल्याइएको छ।
बाँझोपनलाई केवल चिकित्सकीय समस्या मात्र मानिँदैन। यसले दम्पतीको मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध, सामाजिक जीवन र आर्थिक अवस्थामाथि समेत गहिरो प्रभाव पार्न सक्छ।
दीर्घकालीन उपचार, मानसिक तनाव, सामाजिक दबाब तथा सन्तान नहुनुको मनोवैज्ञानिक असरले धेरै परिवार कठिन परिस्थितिमा पुग्ने गरेका छन्। त्यसैले समयमै परीक्षण, उचित परामर्श र आवश्यक उपचारलाई महत्व दिनुपर्ने विज्ञहरूको सुझाव छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार महिलाको जैविक प्रजनन क्षमताको सीमा प्रविधिले पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन। सहायक प्रजनन प्रविधि उपलब्ध भए पनि सबै अवस्थामा त्यसले सफलता दिने निश्चित हुँदैन।
त्यसैले करियर, शिक्षा र व्यक्तिगत लक्ष्यसँगै परिवार विस्तारको योजना पनि समयमै बनाउन आवश्यक रहेको उनीहरूको सुझाव छ। विशेषगरी ३० देखि ३५ वर्षभित्र पहिलो सन्तान जन्माउने योजना बनाउँदा गर्भधारण सहज हुने, आमा र शिशु दुवैको स्वास्थ्य जोखिम कम हुने तथा जटिलता घट्ने सम्भावना बढी रहने चिकित्सकीय निष्कर्ष रहेको छ।
