`

‘एकता सम्भव छैन, कांग्रेस फुट्यो’

समिन बरुवाल २८ असार २०८३ १६:३९
नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसभित्र लामो समयदेखि चलिरहेको आन्तरिक शक्ति संघर्ष अहिले थप गहिरिँदै गएको छ।

संस्थापन र संस्थापनइतर समूहबीच नेतृत्व, महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता, संगठन विस्तार तथा पार्टी सञ्चालन शैलीलाई लिएर देखिएको विवाद समाधानतर्फ भन्दा टकरावतर्फ उन्मुख भएको संकेत देखिन थालेको हो।

यही पृष्ठभूमिमा कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको अवस्था निकै गम्भीर बनेको टिप्पणी गरेका छन्। उनका अनुसार कांग्रेस अहिले लगभग विभाजनको संघारमा पुगेको छ।

उनले भने, ‘अब कांग्रेस एक हुने कुनै सम्भावना बाँकी रहेन। कांग्रेस ९० प्रतिशत विभाजनको रेखामा पुगिसक्यो। तर हामी कुनै हालतमा पार्टी विभाजन गरेर नयाँ दल गठन गर्ने पक्षमा छैनौँ।’

खड्काको यो अभिव्यक्तिलाई कांग्रेसभित्रको पछिल्लो शक्ति संघर्षबारे आएको अहिलेसम्मकै सबैभन्दा कडा सार्वजनिक टिप्पणीका रूपमा हेरिएको छ।

कांग्रेस नेता मीन विश्वकर्माका अनुसार खड्काले पार्टी विभाजन अन्तिम विकल्प हुन नसक्ने स्पष्ट गर्दै अन्तिम समयसम्म एकताको प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार खड्काको धारणा पार्टी फुटाउनु नभई संवादमार्फत समाधान खोज्नु हो।

तर उनले संस्थापन पक्षबाट कुनै अर्थपूर्ण संवाद वा सहमतिको पहल नदेखिएको गुनासो पनि गरेका छन्। उनका अनुसार नेतृत्व तहबाट चासो नदेखिँदा विवाद समाधान हुने सम्भावना क्रमशः कमजोर बन्दै गएको छ।

यता, कांग्रेसभित्र समानान्तर राजनीतिक गतिविधि पनि तीव्र हुन थालेका छन्। नेता डा. प्रकाशशरण महतले विराटनगर पुगेर डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्। दुवै नेताबीच पछिल्लो राजनीतिक परिस्थिति, पार्टीभित्रको संकट र आगामी रणनीतिबारे छलफल भएको स्रोतहरूले बताएका छन्।

यसैबीच, संस्थापनइतर समूहले साउन ६ गते मनाइने बीपी स्मृति दिवसका अवसरमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। उक्त भेलाबाट आगामी राजनीतिक रणनीति, संगठन विस्तार र आवश्यक परे आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिने तयारी भइरहेको बताइएको छ।

पछिल्ला केही सातायता दुवै पक्षबीच विभिन्न प्रस्ताव आदान-प्रदान भए पनि शीर्ष नेतृत्वबाट कुनै औपचारिक प्रतिक्रिया वा सहमतिका लागि ठोस पहल नआएको कांग्रेस निकट स्रोतले बतायो। यसले पार्टीभित्रको अविश्वास झन् बढाएको  निष्कर्ष निस्किएको स्रोतले जनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेस अहिले आफ्नो इतिहासकै संवेदनशील मोडमध्ये एकमा उभिएको छ। शीर्ष नेताहरूबीच समयमै संवाद र सहमति हुन नसके आन्तरिक विवादले संगठनमा दीर्घकालीन असर पार्न सक्ने उनीहरूको आकलन छ।

यद्यपि खड्काले पार्टी विभाजनको सम्भावना निकै बढेको संकेत गरे पनि आफूहरू नयाँ पार्टी गठन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

यद्यपि अब कांग्रेसभित्र संवाद पुनः सुरु हुन्छ कि विवाद अझै चर्किन्छ भन्ने विषय आगामी केही दिनमा स्पष्ट हुने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *