बीपी स्मृति दिवस : दुई धारमा कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवाद अब सार्वजनिक शक्ति प्रदर्शनमा रूपान्तरण हुने संकेत देखिएको छ।
पार्टीका संस्थापन र संस्थापनइतर समूहले बीपी कोइरालाको स्मृति दिवसकै अवसरमा साउन ६ गते छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्ने निर्णय गरेपछि कांग्रेसभित्रको ध्रुवीकरण थप स्पष्ट भएको हो।
पार्टीको संस्थापन पक्षले देशभर सञ्चालन गरिएको ‘जरा अभियान’ को औपचारिक समापन गर्ने तयारी गरेको छ भने संस्थापनइतर समूहले काठमाडौंमा राष्ट्रिय भेलाको तयारी गर्दै आफ्नो शक्ति प्रदर्शन गर्ने रणनीति बनाएको छ। एउटै दिन समानान्तर कार्यक्रम आयोजना गरिनुले कांग्रेसभित्रको विवाद संवादको चरणभन्दा बाहिर पुग्दै गएको संकेत गरेको नेताहरू बताउँछन्।
संस्थापनइतर समूहले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेर लामो समयदेखि छुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको छ। अब सोही समूहले बीपी स्मृति दिवसलाई राजनीतिक सन्देश दिने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको स्रोतको भनाइ छ। राष्ट्रिय भेलामार्फत आगामी रणनीति सार्वजनिक गर्ने र संगठनात्मक दिशा तय गर्ने तयारी भइरहेको जनाइएको छ।
यता, पार्टी केन्द्रीय कार्यालयले भने साउन ६ गते ‘जरा अभियान’ सम्पन्न गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ। वैशाख १ गतेदेखि सुरु गरिएको अभियान सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण र संगठन सुदृढीकरणमा केन्द्रित थियो। तर यही सदस्यता व्यवस्थापनको विषय अहिले संस्थापन र इतर पक्षबीचको विवादको मुख्य कारण बनेको छ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले देशभर खटिएका प्रतिनिधिलाई सदस्यता अद्यावधिकको काम तत्काल पूरा गर्न निर्देशन दिइसकेका छन्। उनले सबै वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि तथा बाँकी रहेका सदस्यहरूको विवरण केन्द्रीय कार्यालयमा शीघ्र पठाउन पनि आग्रह गरेका छन्।
दुवै पक्षले एउटै दिन फरक–फरक कार्यक्रम आयोजना गर्न लागेकाले बीपी कोइरालाको लोकतान्त्रिक विरासतभन्दा पनि पार्टीभित्रको शक्ति संघर्ष केन्द्रमा पुगेको टिप्पणी हुन थालेको छ। कांग्रेसका केही नेताहरूका अनुसार यदि नेतृत्व तहमा संवाद र सहमतिको प्रयास प्रभावकारी बन्न सकेन भने आगामी दिनमा संगठनात्मक दूरी अझ बढ्न सक्ने सम्भावना छ।
यद्यपि, कांग्रेसको कुनै पनि पक्षले हालसम्म औपचारिक रूपमा पार्टी विभाजनको घोषणा गरेको छैन। दुवै समूहले आफूहरू पार्टीभित्रै रहेर आफ्ना धारणा अघि बढाइरहेको बताउँदै आएका छन्।
