`

‘गणेश नेपालीको घटनामा दोष महानगरलाई थोपरेर बालेन सरकार उम्किन मिल्दैन’

Nepal One HD ३० असार २०८३ १३:४२
नेपाली कांग्रेस

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले गणेश नेपालीको आत्मदाह घटनाको जिम्मेवारीबाट बालेन शाह नेतृत्वको सरकार काठमाडौं महानगरपालिकालाई दोष दिएर उम्किन नसक्ने बताएकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद काउचाले गणेश नेपालीले आत्मदाह गर्नुपर्ने परिस्थितिकाे सिर्जना प्रधानमन्त्री बालेनले आफू काठमाडाैं महानगरपालिकाकाे प्रमुख छँदा महानगर प्रहरीमा हुर्काएकाे प्रवृत्ति भएकाे भन्दै आपत्ति जनइन् ।

काउचाले भनिन्, ‘गणेश नेपालीको घटनाको दोष काठमाडौं महानगरको थाप्लोमा थोपरेर सरकार चोखिन खोज्नु कस्तो प्रवृत्ति हो? जुनसुकै घटनामा पुरानो सत्तालाई दोष दिनेहरूले आफू महानगरमा हुँदा हुर्काएको व्यवहार बिर्सन मिल्छ र?’

उनले बालेन सरकारलाई मानवीय संवेदनालाई कुल्चिने हर्कत नगर्न चेतावनी पनि दिइन् । ‘योगमाया न्यौपाने, प्रेम आचार्य र गणेश नेपालीका कथा र व्यथा फरक होलान्, तर यी सबै राज्यविरुद्धको विद्रोह नै हुन्,’ उनले भनिन्, ‘सरकारले गणेश नेपालीको जिउमा दन्किएको आगोको प्रश्न बुझोस्, सुकुम्बासी बस्तीबाट विस्थापित जनताको मनोविज्ञान पढोस् र कुनै पनि मूल्यमा मानवीय संवेदनालाई कुल्चिने हर्कत नगरोस् ।”

सांसद काउचाले सुकुम्बासी व्यवस्थापनका नाममा नागरिकलाई विस्थापित गरेर विकासको नारा मात्रै दिने प्रवृत्तिको पनि आलोचना गरिन्।

‘सुकुम्बासीहरूको बिल्लीबाँठ र विचल्ली पारेर सुन्दर काठमाडौंको सपना देख्नेहरूले पहिले आफ्नै मनको कसिङ्गर बढार्न आवश्यक छ,’ उनले भनिन्।

उनले सरकारलाई समयमै सचेत हुन आग्रह गर्दै नागरिकको पीडाप्रति संवेदनशील बन्न र आफ्नो संवैधानिक दायित्व पूरा गर्न आग्रह गरिन्।

त्यसैगरी, विभिन्न सञ्चारमाध्यम र कांग्रेस सभापति गगनकुमार थापाकाे घरको गेटअगाडि सवारीसाधन तेर्स्याएर आवतजावतमा अवरोध सिर्जना गरिएको घटनामा संलग्नलाई कारबाहीकाे माग गरेकी छन् ।

मिडिया हाउस र नेताको घर अगाडि गाडी तेर्साएर नागरिक तर्साउने काम गर्नेको छानबिन गरी दोषीलाई कारबाही गरियोस् भन्दै उनले लोकतान्त्रिक व्यवस्थामा त्रास सिर्जना गर्ने गतिविधि अस्वीकार्य रहेको बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *