`

टमाटर फालेर माइतीघरमा किसानको विरोध, अनुदान र बजार व्यवस्थापनको माग

Nepal One HD ३१ असार २०८३ १३:१४
फोटोफिचर

काठमाडौं । तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर सरकारविरुद्ध प्रदर्शन गरेका छन्। उत्पादनको उचित मूल्य नपाएको, बजारको सुनिश्चितता हुन नसकेको र सरकारले किसानमैत्री नीति लागू गर्न नसकेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको टमाटर बिक्री हुन नसकेको, लागतसमेत उठाउन कठिन भएको र कृषि क्षेत्रमा राज्यको बेवास्ताका कारण किसान संकटमा परेको गुनासो गरे। विरोधस्वरूप उनीहरूले आफूले उत्पादन गरेको टमाटर सडकमै फाल्दै सरकारको कृषि नीति र बजार व्यवस्थापनप्रति असन्तुष्टि जनाए।

प्रदर्शनकारी किसानहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, उत्पादनमा अनुदान वृद्धि गर्न, मल–बीउको सहज उपलब्धता सुनिश्चित गर्न, बजार व्यवस्थापन प्रभावकारी बनाउन तथा स्वदेशी कृषि उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले सस्तो मूल्यमा आयात हुने तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको र त्यसले स्वदेशी कृषि उत्पादनलाई निरुत्साहित गरेको बताए। किसानहरूको भनाइमा उत्पादन बढाउन प्रोत्साहन गर्नेभन्दा आयातमुखी नीतिले स्थानीय कृषिलाई थप समस्यामा पारेको छ।

किसानहरूले आफ्ना मागप्रति सरकारले चासो नदिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *