विराट पोखरीको स्तरोन्नति गर्न कांग्रेस सांसद सुशिला ढकाल आचार्यको माग
काठमाडौं। नेपाली कांग्रेसकी सांसद सुशिला ढकाल आचार्यले झापाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विराट पोखरीको स्तरोन्नति गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले विराट राजाले निर्माण गरेको मानिने विराट पोखरी झापाको ऐतिहासिक पहिचानसँग जोडिएको सम्पदा भएकाले यसको संरक्षण र विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्।
उनले विराट पोखरीलाई आधुनिक पार्क तथा सांस्कृतिक पार्कका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसले धार्मिक पर्यटन प्रवर्द्धनका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने धारणा राखिन्।
सांसद आचार्यले ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटन पूर्वाधार विस्तारमा लगानी बढाउन सरकारलाई आग्रह गर्दै विराट पोखरीलाई राष्ट्रिय महत्वको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक योजना अघि बढाउनुपर्नेमा जोड दिइन्।
