‘मास्टर्नी’ फिल्मको गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल हटाउन माग
काठमाडौं। नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको गीतप्रति गम्भीर आपत्ति जनाएको छ।
महासङ्घले उक्त गीतमा महिला शिक्षकलाई लक्षित गरी प्रयोग गरिएका शब्द र भावले शिक्षण पेसाको गरिमामाथि आघात पुगेको भन्दै तत्काल गीत हटाउन माग गरेको हो।
महासङ्घको राष्ट्रिय समिति, सानोठिमी भक्तपुरले बिहीबार जारी गरेको विज्ञप्तिमा गीतमा प्रयोग गरिएको भाषा र प्रस्तुतिले महिला शिक्षकमाथि अमर्यादित टिप्पणी गरिएको तथा यसले समग्र शिक्षक समुदायको सम्मानमा ठेस पुर्याएको उल्लेख गरिएको छ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रचार सामग्रीका रूपमा सार्वजनिक गरिएको उक्त गीत तुरुन्त हटाई चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित निर्माता तथा सरोकारवालासँग आग्रह गरिएको छ।
महासङ्घले विवादित गीतलाई यथावत् राखिए त्यसबाट उत्पन्न हुने कुनै पनि असहज अवस्था र परिणामको जिम्मेवारी चलचित्र निर्माण पक्ष तथा सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्ने चेतावनीसमेत दिएको छ।
गीत सार्वजनिक भएपछि देशभरका शिक्षक समुदायबाट असन्तुष्टि व्यक्त हुन थालेपछि महासङ्घले आधिकारिक धारणा सार्वजनिक गरेको जनाएको छ।
महासङ्घले पत्र संख्या २९–२०८३ मार्फत साउन १ गते विज्ञप्ति जारी गर्दै शिक्षण पेसाको सम्मान कायम रहने गरी आवश्यक निर्णय लिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
