`

देउवाको हात भाँचिएको भन्ने हल्ला

Nepal One HD १ साउन २०८३ १७:२४
प्रमुख खबर

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा घाइते भएको भन्ने समाचारलाई उनको सचिवालयले पूर्ण रूपमा असत्य र भ्रामक भएको जनाएको छ।

शुक्रबार बिहान देउवा शौचालयमा लडेर घाइते भएको र उनको हात भाँचिएको दाबी गर्दै विभिन्न माध्यममा समाचार सार्वजनिक भएपछि सचिवालयले तत्काल विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो।

सचिवालयले जारी गरेको विज्ञप्तिमा देउवा न त लडेका छन्, न त उनको हात भाँचिएको छ भन्दै पुष्टि नभएका सूचना सार्वजनिक नगर्न आग्रह गरिएको छ। आधिकारिक स्रोतबाट सत्यता नबुझी यस्ता समाचार प्रसारण गर्दा समाजमा अनावश्यक भ्रम फैलिने उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘शेरबहादुर देउवा लड्नुभएको वा उहाँको हात भाँचिएको भन्ने समाचार पूर्ण रूपमा असत्य र निराधार हो। कुनै पनि सूचना सार्वजनिक वा साझा गर्नुअघि आधिकारिक स्रोतबाट पुष्टि गर्न सबैमा अनुरोध गर्दछौँ।’

देउवाका स्वकीय सचिव भानु देउवाले पनि सामाजिक सञ्जालमार्फत यस्ता अपुष्ट हल्ला फैलाउनु गैरजिम्मेवार कार्य भएको बताएका छन्। उनले तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न आग्रह गर्दै अफवाह फैलाउने कार्यबाट टाढा रहन सबैलाई अनुरोध गरेका छन्।

हाल देउवा विदेश भ्रमणमा रहेको सचिवालयले जनाएको छ। सचिवालयले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घाइते भएको भन्ने दाबीमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।

यसबीच देउवा विदेशमै बसेको कारण वा उनी नेपाल नफर्किएको विषयमा विभिन्न अड्कलबाजीसमेत भइरहेका छन्। तर ती दाबीबारे सचिवालयले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *