`

एक वर्षमा ५८ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता

Nepal One HD २ साउन २०८३ १६:४३
अर्थ समाचार

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा कुल ५८ अर्ब एक करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको जनाएको छ।

विभागका अनुसार गत साउनदेखि असार मसान्तसम्म ‘अटोमेटिक रुट’ मार्फत ८९७ वटा परियोजनामा नौ अर्ब ५८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। यस्तै ‘अप्रुभ्ड रुट’ मार्फत २१९ वटा परियोजनाका लागि ४८ अर्ब ४१ करोड ६६ लाख तीन हजार २५ रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ।

क्षेत्रगत रूपमा हेर्दा उत्पादनमूलक क्षेत्रमा ६३ वटा परियोजनाका लागि तीन अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

ऊर्जा क्षेत्रमा चार वटा परियोजनामा सात अर्ब १६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ भने कृषिमूलक क्षेत्रमा १८ वटा परियोजनाका लागि २३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

पर्यटन क्षेत्रमा २२७ वटा परियोजनामा १३ अर्ब ९९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

यस्तै, सबैभन्दा धेरै ७२७ वटा परियोजना सूचनाप्रविधि (आईटी) क्षेत्रमा दर्ता भएका छन्। ती परियोजनाका लागि दुई अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *