`

सांसद खुस्बु ओलीलाई फेसबुकमार्फत धम्की दिएको आरोपमा दुई जना पक्राउ

Nepal One HD ३ साउन २०८३ ११:१७
राजनीति

चितवन । सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिएको तथा चरित्रहत्या गर्ने उद्देश्यले सामग्री प्रकाशित गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका-१६ निवासी तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भई हाल नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरेलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले सांसद ओलीविरुद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण र मानहानि हुने प्रकृतिका सामग्री पोस्ट गरेका थिए।

तेजेन्द्रप्रसाद पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सदस्य रहेको जिल्ला पार्टी स्रोतले जनाएको छ। उनी पार्टीको औपचारिक संगठनात्मक जिम्मेवारीमा भने नरहेको स्रोतको भनाइ छ।

चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार सांसद ओलीको उजुरीका आधारमा साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौंमा दर्ता भएको थियो। त्यसपछि नेपाल प्रहरीको साइबर ब्यूरोले उनीहरूको पहिचान गरी चितवन प्रहरीलाई जानकारी गराएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो।

सार्वजनिक बिदा परेकाले आइतबार उनीहरूविरुद्ध म्याद थप गर्न नसकिएको र त्यसैले औपचारिक रूपमा परिचय सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। यद्यपि, नियन्त्रणमा लिइएकामध्ये एक जना रास्वपाका कार्यकर्ता रहेको जानकारी प्राप्त भएको एसपी पौडेलले बताए।

प्रहरीले सोमबार जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ। हालको कानुनी व्यवस्थाअनुसार साइबर अपराधसम्बन्धी उजुरी जुनसुकै स्थानमा दर्ता भए पनि आवश्यक प्रक्रिया सम्बन्धित प्रहरी कार्यालयबाट अघि बढाउन सकिने व्यवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *