`

बालेन सरकार ५ वर्ष टिक्दैन : कुलमान घिसिङ

Nepal One HD ३ साउन २०८३ ११:२०
राजनीति

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वर्तमान अवस्था कायम रहे सरकार पाँच वर्ष टिक्न कठिन हुने बताएका छन्।

पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले जनअपेक्षाअनुसार काम नगरे सडक आन्दोलनमा उत्रिने चेतावनी पनि दिए।

घिसिङले सरकार पाँच वर्ष पूरा गरोस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै वर्तमान कार्यशैलीले त्यो सम्भावना कमजोर बनाइरहेको बताए। उनका अनुसार रास्वपाले सार्वजनिक रूपमा गर्ने प्रतिबद्धता र व्यवहारमा देखिएको कार्यशैलीबीच अन्तर देखिएको छ।

उनले जनताले ठूलो विश्वासका साथ दुई तिहाइको समर्थन दिएर सरकार बनाएको स्मरण गराउँदै सरकार नागरिकका अपेक्षा, आवश्यकता र माग सम्बोधन गर्न जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताए।

पछिल्ला केही महिनामा आत्मदाहका घटनाहरू बढ्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै घिसिङले त्यसलाई केवल छुट्टाछुट्टै घटना नभई समाजमा बढ्दो निराशाको संकेतका रूपमा व्याख्या गरे। उनले यस्तो अवस्था सिर्जना हुनुमा सबै पक्ष जिम्मेवार भए पनि मुख्य जिम्मेवारी सरकारकै हुने धारणा राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *