१० उद्योगले बुझाए ४६ करोड, १० उद्योगको लाइन काटियो
काठमाडौं । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत उद्योगीहरूले गत आर्थिक वर्षको असार मसान्तसम्म राज्यकोषमा ४६ करोड ८६ लाख रुपैयाँ महसुल दाखिला गरेका छन्।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीका अनुसार देशभर रहेका १० वटा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूबाट उक्त रकम संकलन भएको हो।
उनका अनुसार देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्योगले अझै करिब ८८ करोड रुपैयाँ महसुल बक्यौता तिर्न बाँकी छ।
बक्यौता नतिर्ने उद्योगहरूमाथि कारबाही प्रक्रिया पनि सुरु गरिएको लिमिटेडले जनाएको छ। सोडारीका अनुसार हालसम्म बक्यौता नबुझाएका १० उद्योगको विद्युत् आपूर्ति काटिएको छ।
त्यसमध्ये कन्टिनेन्टल ग्रुपअन्तर्गतका दुई उद्योगले मात्रै करिब ४ करोड रुपैयाँ महसुल तिर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।
