सोनाम वाङचुकको आन्दोलन कसरी राष्ट्रिय आन्दोलन बन्यो?
दिल्लीको जन्तर-मन्तरमा जुलाई १८ को बिहान वातावरण असामान्य रूपमा शान्त थियो। प्रदर्शनकारीहरू मौन थिए, तर उनीहरूको चिन्ता स्पष्ट देखिन्थ्यो। मञ्चको बीचमा सुतिरहेका थिए भारतका चर्चित अभियन्ता, इन्जिनियर तथा शिक्षा सुधारक- सोनम वाङचुक।
एक्कासी प्रहरी आयो र वाङचुकलाई उठाएर लग्यो। विधार्थीहरु आश्चर्यमा थिए कहाँ लागेको भनेर। केही समयपछि खबर आयो- अस्पताल लगियो भनेर। रिसले चुर्मुरिएका कक्रोज जनता पार्टीका कार्यकर्ताले विभिन्न खाले नाराबाजी गर्न थाले। लगत्तै अर्को ठुलो खबर सार्वजनिक भयो- ‘सिजीपी’का संस्थापक अभिजित दिपकेले अनसन घोषणा गरे।
वाङचुकको अनशन कुनै व्यक्तिगत मागका लागि नभएको कक्रोज जनता पार्टीले यसअघि नै जनाइसकेको छ। उनी भारतको शिक्षा प्रणालीप्रति लाखौं विद्यार्थीमा बढ्दो निराशा र आक्रोशको प्रतीक बनेका थिए। भारतको सबैभन्दा महत्वपूर्ण चिकित्सा प्रवेश परीक्षा ‘नेशनल एलिजिबिलिटी कम इन्ट्रान्स टेस्टमा भएको प्रश्नपत्र चुहावटको विवाद उनको अनसनको प्रमुख एजेन्डा हो। करोडौं विद्यार्थीको भविष्यसँग जोडिएको यो परीक्षा प्रश्नपत्र बाहिरिएको आरोपपछि रद्द भयो र लाखौं विद्यार्थी पुनः परीक्षा दिन बाध्य भए। यही घटनाले देशभर असन्तुष्टि फैलायो र शिक्षा मन्त्रालयमाथि जवाफदेहिता माग्ने आन्दोलन सुरु भयो।
‘कक्रोच जनता पार्टी ’ नामक एउटा व्यंग्यात्मक युवा अभियानले यस आन्दोलनको नेतृत्व गरिरहेको छ। नाम सुन्दा राजनीतिक दल जस्तो लागे पनि यो औपचारिक राजनीतिक संगठन होइन। सामाजिक सञ्जालमार्फत सुरु भएको यो अभियानले छोटो समयमै करोडौं युवाको ध्यान तान्यो। अहिले यो अभियानको मुख्य माग छ- शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट राजीनामा दिनुपर्छ, परीक्षा प्रणालीमा व्यापक सुधार गरिनुपर्छ र परीक्षा अनियमितताका कारण मानसिक तनावमा परेर आत्महत्या गरेका भनिएका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइनुपर्छ।
जुन २० देखि जन्तर-मन्तरमा सुरु भएको आन्दोलनमा सुरुमा विद्यार्थी, अभिभावक र केही सामाजिक अभियन्ता मात्र सहभागी थिए। तर जुन २८ मा सोनम वाङचुक अनिश्चितकालीन अनशनमा बसेपछि आन्दोलनको स्वरूप नै बदलियो। लद्दाखका हिमाली गाउँदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म पहिचान बनाएका वाङचुक आन्दोलनमा जोडिएपछि राष्ट्रिय सञ्चारमाध्यम, नागरिक समाज, शिक्षाविद् र विपक्षी दलहरूको ध्यान जन्तर-मन्तरतर्फ केन्द्रित हुन थाल्यो। अहिले यो विद्यार्थी आन्दोलन राष्ट्रिय बहसको विषय नै बनिरहेको छ।
वाङचुकले अनशन सुरु गर्दा आफू छ हप्तासम्म वा मृत्यु नहुँदासम्म पनि आन्दोलन नछोड्ने चेतावनी दिएका थिए। उनका अनुसार यो एउटा परीक्षा रद्द भएको विषय थिएन, लाखौं युवाको भविष्यसँग खेलवाड गर्ने प्रणालीविरुद्धको संघर्ष हो। शिक्षा प्रणालीमा पारदर्शिता र जिम्मेवारी स्थापित नभएसम्म आन्दोलन जारी रहने उनको अडान छ।
भारतमा सोनम वाङचुक कुनै नयाँ नाम होइन। हिमाली क्षेत्र लद्दाखका बासिन्दा वाङचुकलाई धेरैले वातावरण अभियन्ता, शिक्षा सुधारक, वैज्ञानिक र सामाजिक अभियन्ताका रूपमा चिन्छन्। तर उनको परिचय यतिमै सीमित छैन। उनले दशकौंसम्म दुर्गम हिमाली क्षेत्रमा शिक्षा प्रणाली सुधार, दिगो प्रविधिको विकास र जलवायु परिवर्तनसँग जुध्ने उपायहरूमा काम गरेका छन्। यही कारण उनी भारतमा राजनीतिक दलभन्दा माथि उठेर विश्वास गरिने सार्वजनिक व्यक्तित्वमध्ये एक मानिन्छन्।
सन् १९६६ सेप्टेम्बर १ मा लद्दाखको उलेयटोक्पो गाउँमा जन्मिएका वाङचुकको बाल्यकाल नै असामान्य थियो। गाउँमा विद्यालय नभएकाले उनले पहिलो नौ वर्ष आमासँग घरमै शिक्षा लिए। पछि परिवार श्रीनगर सरेपछि पहिलो पटक विद्यालय पुगेका उनी त्यहाँको शिक्षा प्रणालीसँग असन्तुष्ट भए। आफूलाई नआउने उर्दू भाषामा पढाइ हुने र शिक्षकहरूले विद्यार्थीमाथि शारीरिक दण्ड प्रयोग गर्ने संस्कृतिले उनलाई गहिरो असर गर्यो। यही अनुभवले भविष्यमा शिक्षा प्रणाली परिवर्तन गर्ने संकल्प जन्माएको उनी स्वयंले विभिन्न अवसरमा बताएका छन्।
यही अनुभवलाई आधार बनाएर उनले पछि लद्दाखमा विद्यार्थीमैत्री शिक्षा प्रणाली विकास गर्ने अभियान चलाए। परम्परागत घोकन्ते शिक्षाभन्दा प्रयोगात्मक सिकाइमा जोड दिने उनको अवधारणाले हजारौं विद्यार्थीको जीवन परिवर्तन गर्यो। उनले स्थापना गरेका शैक्षिक परियोजनाहरू आज पनि वैकल्पिक शिक्षाका सफल उदाहरणका रूपमा हेरिन्छन्। जलवायु परिवर्तनसँग जुध्न उनले विकास गरेको ‘आइस स्तुपा’ प्रविधिले हिमाली क्षेत्रमा हिउँदको पानी संरक्षण गरेर वसन्तमा खेतीका लागि प्रयोग गर्ने नयाँ उपाय दिएको छ। यही योगदानका लागि उनले सन् २०१८ मा प्रतिष्ठित रेमन म्यागसेसे पुरस्कार प्राप्त गरेका थिए। बलिउडको चर्चित चलचित्र थ्री इडियट्स का मुख्य पात्र ‘राञ्चो’ को प्रेरणा पनि उनी नै भएको मानिन्छ, यद्यपि वाङचुकले आफूलाई फिल्मसँग प्रत्यक्ष जोड्न सधैं अस्वीकार गर्दै आएका छन्।
सिजेपीले सुरु गरेको यो आन्दोलन विस्तारै सामाजिक सञ्जालको सीमाभन्दा बाहिर पुगेको छ। भारतका विभिन्न राज्यबाट विद्यार्थीहरू दिल्ली पुग्न थालेका छन्। जन्तर-मन्तरमा दैनिक रूपमा सयौं युवा भेला हुन्छन् र सामूहिक उपवास बस्छन्। आन्दोलनलाई समर्थन गर्दै वातावरणविद्, शिक्षाविद्, मानवअधिकारकर्मी, कलाकार र विभिन्न विद्यार्थी संगठनहरूले यो आन्दोलनमा ऐक्यवद्वता जनाइरहेका छन् ।
तर आन्दोलन बढ्दै जाँदा केन्द्र सरकारको मौनता पनि त्यत्तिकै चर्चाको विषय बन्यो। आन्दोलन सुरु भएको तीन साताभन्दा बढी समय बितिसक्दा पनि कुनै मन्त्री वा उच्च सरकारी प्रतिनिधि प्रदर्शनस्थल पुगेका छैनन्। आन्दोलनकारीहरूले पटक-पटक वार्ताको आह्वान गरे पनि औपचारिक प्रतिक्रिया आएको छैन । सरकारी पक्षको यही मौनताले अहिले यो आन्दोलनलाई झन् राजनीतिक बनाइरहेको छ।
अहिले के हुँदैछ?
अनशन सुरु भएको झण्डै तीन सातापछि वाङचुकको स्वास्थ्य गम्भीर रूपमा कमजोर बन्न थालेपछि चिकित्सकहरूले लगातार उनको स्वास्थ्य बिग्रिरहेको चेतावनी दिइरहेका थिए। अर्कोतिर अदालतले समेत दैनिक स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो। तर आन्दोलनकारीहरूको भनाइमा सरकार वार्ताभन्दा पनि आन्दोलनलाई समाप्त पार्ने उपाय खोजिरहेको छ। अन्ततः अनशनको २०औँ दिन दिल्ली प्रहरीले हस्तक्षेप गर्यो र वाङचुकलाई जबर्जस्ती अस्पताल लगियो। यो घटनाले आन्दोलनलाई नयाँ मोड मात्र दिएको छैन, सरकारको भूमिकामाथि थप प्रश्न पनि खडा गरेको छ।
प्रहरीले वाङचुकको स्वास्थ्य अत्यन्त नाजुक बनेपछि चिकित्सकहरूको सिफारिस र अदालतको आदेशअनुसार सरकारी अस्पतालमा भर्ना गरिएको दाबी गर्यो। दिल्ली प्रहरीका अधिकारीहरूले कुनै पनि नागरिकको जीवन राज्यका लागि महत्वपूर्ण भएकाले आवश्यक चिकित्सकीय हस्तक्षेप गरिएको बताएका थिए। तर आन्दोलनकारीहरूको दाबी फरक छ। उनीहरूका अनुसार प्रहरीले प्रदर्शनस्थलमा बल प्रयोग गर्दै वाङचुकलाई सेतो कपडाले छोपेर जबर्जस्ती हटाएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूले पनि उक्त घटनापछि व्यापक बहस जन्माए।
वाङचुकलाई अस्पताल लगिएलगत्तै आन्दोलनको नेतृत्व फेरि ‘कक्रोच जनता पार्टी’का संस्थापक अभिजित दिप्केले सम्हाले। उनले आफू पनि अनिश्चितकालीन अनशनमा बस्ने घोषणा गरे र संसद्को वर्षायाम अधिवेशन सुरु हुने दिन देशव्यापी प्रदर्शन गर्न आह्वान गरेका छन्। उनका अनुसार आन्दोलन कुनै एक व्यक्तिमा निर्भर छैन, बरु करोडौं विद्यार्थीको भविष्यसँग जोडिएको अभियान हो। वाङचुक अस्पताल पुगे पनि आन्दोलन भने नरोकिने उनले स्पष्ट पारेका छन्।
यता अस्पतालमा उपचाररत वाङचुकका परिवारले पनि सरकारप्रति अविश्वास व्यक्त गरिरहेको छ। उनकी पत्नी गीताञ्जली जे आङ्मोले सामाजिक सञ्जालमार्फत आफ्नो अनुमति, परिवारको सहमति र निजी चिकित्सकको सल्लाहबिना वाङचुकलाई कुनै औषधि वा तरल पदार्थ नदिन अस्पताल प्रशासनलाई आग्रह गरिन्। यसले आन्दोलन केवल सडकमा सीमित नरही मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताको बहससँग पनि जोडियो।
यसबीच दिल्ली उच्च अदालतमा अर्को सार्वजनिक हितको रिट पनि दर्ता भयो। उक्त रिटमा वाङचुकको ज्यान बचाउन आवश्यक परे जबर्जस्ती तरल आहार खुवाउन सकिने व्यवस्था गर्न माग गरिएको थियो। यसले आन्दोलनलाई कानुनी बहसको केन्द्रमा पनि पुर्याएको छ।
राजनीतिक रूपमा पनि आन्दोलनको प्रभाव बढ्दै गएको देखिन्छ। कांग्रेस सांसद शशि थरूरले वाङचुकलाई खुला पत्र लेख्दै अनशन अन्त्य गर्न आग्रह गरे। उनले वाङचुकले देशको अन्तरात्मालाई झक्झक्याएको उल्लेख गर्दै अब दीर्घकालीन संघर्षका लागि उनको जीवन आवश्यक रहेको बताए। यद्यपि वाङचुक समर्थकहरूले सरकार वार्तामा नआएसम्म आन्दोलन रोकिनु नहुने अडान कायम राखे।
वास्तवमा यो आन्दोलन केवल एउटा परीक्षा विवादमा सीमित छैन। भारतमा प्रत्येक वर्ष करोडौं विद्यार्थी विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन्छन्। तीमध्ये चिकित्सा प्रवेश परीक्षा अर्थात् निट सबैभन्दा कठिन र प्रतिष्ठितमध्ये एक हो। लाखौं विद्यार्थी वर्षौंसम्म तयारी गर्छन्, परिवारले ठूलो आर्थिक लगानी गर्छन्, तर प्रश्नपत्र चुहावटजस्ता घटनाले उनीहरूको मेहनतमाथि नै प्रश्न उठाइदिन्छ। यही कारण वाङचुकको आन्दोलनले विद्यार्थी, अभिभावक र आम नागरिकको व्यापक समर्थन पाएको हो।
अर्कोतर्फ, यो आन्दोलनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि पनि नैतिक दबाब बढाएको छ। आन्दोलन सुरु भएको लामो समय बितिसक्दा पनि केन्द्र सरकारले आन्दोलनकारीसँग औपचारिक वार्ता नगर्नु विपक्षी दलहरूको आलोचनाको विषय बनेको छ। आन्दोलनकारीहरूको भनाइमा उनीहरूले सरकार परिवर्तनको माग गरेका छैनन्; उनीहरूको माग केवल शिक्षा प्रणालीमा जवाफदेहिता स्थापित गर्ने र जिम्मेवार मन्त्रीले नैतिक उत्तरदायित्व स्वीकार गर्ने मात्र हो।
वाङचुकका लागि पनि यस्तो आन्दोलन पहिलो होइन। पछिल्ला वर्षहरूमा उनले लद्दाखको संवैधानिक अधिकार, वातावरण संरक्षण र स्थानीय जनप्रतिनिधित्वका विषयमा पटक–पटक आन्दोलन गरेका छन्। गत वर्ष यस्तै आन्दोलनका क्रममा उनी पक्राउ परेका थिए र करिब १७० दिन हिरासतमा बिताएपछि उनीमाथिका आरोप खारेज भएका थिए। त्यसैले अहिलेको आन्दोलनलाई धेरै विश्लेषकहरूले उनको लामो सार्वजनिक संघर्षको अर्को अध्यायका रूपमा पनि हेरेका छन्।
(विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयाेगमा तयार पारिएकाे)
