‘झिंगे दाउ २’ को ट्रेलर सार्वजनिक
काठमाडौं। आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘झिंगे दाउ २’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले पारिवारिक सम्बन्धभित्र उत्पन्न हुने मनमुटाव, दाजुभाइबीचको द्वन्द्व, देउरानी-जेठानीको टकराव र आमाको ममतासँग जोडिएको भावनात्मक कथालाई केन्द्रमा राखेको छ।
ट्रेलरमा परिवारभित्रको कलहसँगै सन्तानप्रतिको प्रेम, आमासँगको सम्बन्ध र हराएकी आमाको खोजीलाई पनि कथाको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ। हास्य, पारिवारिक द्वन्द्व र भावनात्मक उतारचढावको मिश्रण देखिने ट्रेलरले फिल्मप्रति दर्शकको चासो बढाउने संकेत गरेको छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माताका रूपमा छन्।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय रहेको छ।
विष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन्। अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन रहेको फिल्मको प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।
परिच्छेद सेनले पटकथा तथा संवाद लेखेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखनसमेत रहेको छ।
फिल्मका गीतमध्ये ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज गीतले यसअघि नै दर्शकको ध्यान खिचिसकेको छ। गीत सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा चर्चित बनेको निर्माण पक्षको दाबी छ।
यसअघि सार्वजनिक ‘झिंगे दाउ’ले समेत डिजिटल प्लेटफर्ममा राम्रो दर्शक पाएको बताइएको छ। पहिलो फिल्मप्रतिको दर्शकको रुचिलाई निरन्तरता दिँदै दोस्रो भागमा पारिवारिक कथा, सम्बन्धको उतारचढाव र मनोरञ्जनलाई थप फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
‘झिंगे दाउ २’ असोज २ गतेदेखि नेपाली हलमा प्रदर्शनमा आउनेछ।
