`

एआईबाट गीत दुरुपयोग भए उजुरी दिन संगीत रोयल्टी संकलन समाजको आग्रह

Nepal One HD ७ साउन २०८३ १५:५४
मनोरञ्जन

काठमाडौं। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरेर स्रष्टाको अनुमति वा लाइसेन्सबिना गीत–संगीत प्रयोग भइरहेका घटनाप्रति संगीत रोयल्टी संकलन समाजले गम्भीर चासो व्यक्त गरेको छ।

समाजले यस्ता अनधिकृत प्रयोगविरुद्ध सम्बन्धित स्रष्टा तथा अधिकारवालालाई उजुरी दर्ता गर्न आग्रह गरेको हो।

समाजले जारी गरेको सूचनाअनुसार एआईमार्फत सिर्जना वा प्रयोग गरिएका गीत–संगीतमा अधिकार उल्लङ्घन भएको भए सम्बन्धित व्यक्तिले समाजमा औपचारिक उजुरी दिन सक्नेछन्।

समाजका अनुसार उजुरी कार्यालयमा स्वयं उपस्थित भएर वा लिखित निवेदनमार्फत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। उजुरीका आधारमा अनधिकृत सामग्री हटाउन माग गर्न र सम्बन्धित रोयल्टी दाबी गर्न सकिने उल्लेख गरिएको छ।

यस्तै, हालसम्म समाजमा दर्ता नभएका गीत–संगीतका विवरण तथा आवश्यक प्रक्रिया पनि यथाशीघ्र पूरा गर्न स्रष्टा तथा अधिकारवालालाई अनुरोध गरिएको छ।

संगीत रोयल्टी संकलन समाजका प्रमुख कार्यकारी अधिकृत सागर पाण्डेद्वारा जारी सूचनामा एआई प्रविधिको बढ्दो प्रयोगसँगै बौद्धिक सम्पत्ति अधिकारको संरक्षणलाई प्रभावकारी बनाउन यस्तो पहल गरिएको जनाइएको छ।

May be an image of text


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *