रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या
काठमाडौं। रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। घटनापछि आक्रोशित स्थानीयवासीले आरोपितमाथि कुटपिट गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती रेनुदेवी जयसवाल (अन्दाजी ४०-४५ वर्ष) माथि धारिलो हतियार (खुकुरी) प्रहार गरिएको थियो। घाँटीमा गम्भीर चोट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही टोल स्थायी घर भई हाल गुजरा नगरपालिका–५ हरिहरपुरमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनुदेवीमाथि खुकुरी प्रहार गरेका हुन्।
घटनापछि स्थानीयवासीले उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुर पठाइएको छ। प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। हाल घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारणबारे हालसम्म केही खुलाएको छैन। हत्या किन र के कारणले भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
