`

मुकेश कार्कीका काला चिट्ठा

Nepal One HD ९ साउन २०८३ १५:४४
बिशेष

काठमाडौं। विराटनगरमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको आशंकामा मोरङ प्रहरीले विराटनगरका मुकेश कार्कीलाई पक्राउ गरेको छ।

गिरीमाथि विभिन्न आपराधिक मुद्दामा अनुसन्धान भइरहेका बेला उनीसँग जोडिएका व्यक्तिहरूमाथि पनि प्रहरीले अनुसन्धान तीव्र बनाएको हो।

विराटनगर महानगरपालिका-७ निवासी ४६ वर्षीय मुकेश कार्कीलाई शनिबार बिहान करिब ७ः३० बजे वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले उनकै घरबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

मोरङ प्रहरीका अनुसार कार्की लामो समयदेखि अभिषेक गिरीसँग प्रत्यक्ष सम्पर्कमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि नियन्त्रणमा लिइएको हो। प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले कार्कीको गिरीसँगको सम्बन्ध, आर्थिक कारोबार, पृष्ठभूमि तथा सम्भावित आपराधिक संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कार्कीले गिरीको आर्थिक हिसाब-किताब मिलाउने, आवश्यक व्यवस्थापन गर्ने तथा विभिन्न गतिविधिमा सहयोग गर्ने भूमिका निर्वाह गर्दै आएको देखिएको छ। उनी गिरीको समूहसँग आबद्ध भएर विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको हुन सक्ने आशंकामा सबै पक्षबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कार्की लामो समयदेखि निगरानीमा थिए। यसअघि पनि उनलाई पक्राउ गर्न प्रहरी टोली घर पुगेको भए पनि उनी पक्राउ परेका थिएनन्। शनिबार बिहान विशेष निगरानीपछि उनलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो। कार्कीले विराटनगरमा सुधार केन्द्र सञ्चालन गर्दै आएको जानकारी पनि प्रहरीले दिएको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार अभिषेक गिरीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिमाथि पनि निगरानी बढाइएको छ। गिरीको प्रभावमा रहेर असुली, मिटरब्याज, ठेक्कापट्टामा दबाब सिर्जना गर्ने, धाकधम्की दिने तथा समाजमा आतंक फैलाउने गतिविधिमा संलग्न रहेको आशंका गरिएका केही व्यक्ति फरार छन् भने केहीमाथि अनुसन्धान जारी छ। फरार नभएका केही व्यक्तिलाई निगरानीमा राखिएको र प्रमाणका आधारमा आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार गिरीसँग विभिन्न राजनीतिक दलका केही नेता तथा कार्यकर्ताको पनि सम्पर्क देखिएको छ। आर्थिक कारोबारदेखि अन्य गतिविधिसम्मको सम्बन्धबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विशेषगरी केही राजनीतिक व्यक्तिहरूले गिरीसँग मिलेर आर्थिक गतिविधि सञ्चालन गरेको हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ।

अभिषेक गिरीलाई गत असार १३ गते मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता तथा श्रम पारिश्रमिक संकलन गरेर आर्थिक शोषण गरेको आरोपमा विराटनगर–८ स्थित निवासबाट पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा कैदीबन्दीलाई वितरण गरिएको करिब १३ लाख ६० हजार रुपैयाँ पुनः संकलन गरेर आफ्नो नियन्त्रणमा लिएको खुलेपछि उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको थियो।

पछि उच्च अदालत विराटनगरले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै अनुसन्धान टुंग्याउन वा हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। त्यसपछि मोरङ प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा म्याद थपका लागि जिल्ला अदालत पुगे पनि अदालतले हाजिरी जमानीमा छाडेर अनुसन्धान गर्न आदेश दिएको थियो।

यद्यपि, गिरी रिहा हुन पाएनन्। उनीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी र आपराधिक विश्वासघात मुद्दामा यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेकाले अदालतबाट छुटेलगत्तै मोरङ प्रहरीले उनलाई पुनः पक्राउ गरी काठमाडौं पठाएको थियो। हाल उनीमाथि सीआईबीले ठगी र आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान गरिरहेको छ।

अपहरण तथा शरीर बन्धक मुद्दामा नौ वर्ष कैद सजाय भोगेर २०७९ चैत ५ गते रिहा भएका गिरीमाथि कारागारभित्र चौकीदारको भूमिकामा रहँदा कैदीबन्दीमाथि आर्थिक शोषण गर्ने, रासन तथा लत्ताकपडाको भत्ता हडप्ने, जेल बाहिर आफ्नो समूहमार्फत मिटरब्याजको कारोबार सञ्चालन गर्ने लगायतका आरोप लाग्दै आएका छन्।

प्रहरी अनुसन्धानले जेलबाट छुटेपछि पनि उनले कारागारभित्रका आर्थिक गतिविधि, मेस आपूर्ति तथा कैदीबन्दीको श्रम आम्दानीमा प्रभाव कायम राखेको देखाएको छ। उनको घरमा गरिएको खानतलासीका क्रममा पैसा गन्ने मेसिनसमेत बरामद भएको प्रहरीले जनाएको छ।

मुकेश कार्कीको पक्राउसँगै अभिषेक गिरीको सञ्जालमा जोडिएका अन्य व्यक्तिहरूमाथिको अनुसन्धान पनि थप तीव्र बनाइएको मोरङ प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *