त्रिविको एमबिएस परीक्षा सुरु भएको पाँच मिनेटमै प्रश्नपत्र ह्वाट्सएपमा
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तहको मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) प्रथम सत्रको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको घटना बाहिर आएको छ। घटनापछि त्रिविले साइबर ब्युरोसँग सहयोग माग्दै छानबिन प्रक्रिया अघि बढाएको छ।
साउन ८ गते मध्याह्न १२ बजे सुरु भएको परीक्षाको प्रश्नपत्र करिब १२:०५ बजे नै ‘एमबिएस फर्स्ट सेम सेक्सन बी’ नामक ह्वाट्सएप समूहमा साझा गरिएको दाबी गरिएको छ। उक्त समूहमा एक हजार २३ जना सदस्य रहेको बताइएको छ।
घटनाबारे फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ ले ह्वाट्सएप समूहका स्क्रिनसट सार्वजनिक गर्दै त्रिविको ध्यानाकर्षण गराएको थियो। पेजले परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र बाहिरिनुले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेको छ।
सार्वजनिक स्क्रिनसटअनुसार ‘सुलभ सर’ नामबाट चिनिने व्यक्तिले समूहमा प्रश्नपत्र पठाएको देखिन्छ। त्यसपछि केशव भट्ट नामका सदस्यले ‘सर, सोलुसन पनि पठाइदिनु न’ भन्ने सन्देश लेखेका छन्। केही मिनेटपछि सोही व्यक्तिले अर्को पीडीएफ फाइल पनि समूहमा पठाएको देखिए पनि त्यसमा के सामग्री थियो भन्ने खुलेको छैन।
यो घटना सार्वजनिक भएपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डीन कार्यालयले तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई अनुसन्धानका लागि पत्राचार गरेको छ।
यसैबीच, त्रिविको परीक्षा नियन्त्रण महाशाखाले आइतबार घटनाको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
परीक्षा सञ्चालक समितिले उक्त समितिलाई घटनाबारे विस्तृत छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तथा सात कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ। प्रश्नपत्र कसरी र कहाँबाट बाहिरियो भन्ने विषयमा अनुसन्धान जारी रहेको त्रिविले जनाएको छ।
