प्रधानमन्त्री र गृहमन्त्रीकाे राजीनामा माग्दै एमाले उपनेताले भनिन्- थुनामा बस्नुपर्छ कि पर्दैन ?
काठमाडाैं । नेकपा एमाले संसदीय दलकी नेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङकाे राजीनामा मागेकी छन् ।
उनले सुनसरीकाे देवानगञ्ज गाउँपालिकाकाे कप्तानगञ्जमा दुई समुदायबीच भड्किएकाे दंगाका कारण एक जना नागरिककाे ज्यान गएकाे घटनाप्रति जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताएकी हुन् । उनले प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङ थुनामा बस्नुपर्ने पनि बताइन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले भनिन् ‘हिजाे काठमाडाैंमा गाेली चल्दा र मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री जवाफदेही हुनुपर्छ भने आज सुनसरीमा गाेली चल्दा र मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ? थुनामा बस्नुपर्छ कि पर्दैन ?’, उनले भनिन् ‘ आज अरुलाई फाैजदारी अभियाेगकाे दायित्व थुपार्नेहरु सुनसरी घटनाकाे नैतिक जिम्मेवार लिन तयार हुनुहुन्छ कि हुनुहुन्न ? म याे प्रश्न गर्न चाहन्छु ।’
उनले सुनसरी दुई समुदायबीच भएकाे तनाव संवेदनशील भएकाे भन्दै एमाले त्यसप्रति गम्भीर र जिम्मेवार भएकाे बताइन् । सरकारलाई सहयाेग गर्न तयार रहेकाे पनि उनकाे भनाइ छ । तर प्रधानमन्त्री बालेनकाे अत्ताेपत्ताे नभएकाे भन्दै उनले आक्राेश पाेखिन् ।
‘हामी गम्भीर र जिम्मेवार छाैँ । सरकारलाई सहयाेग गर्छाैँ तर आज प्रधानमन्त्री कहाँ छन् ? किन बेखबर छन् । प्रधानमन्त्रीकाे पद सिंहदरबारमा सजाउनका निम्ति हाेइन । देशमा संकट पर्दा जनतालाई दुख पर्दा सरकार देखिनुपर्छ,’ उनले भनिन् ।
