‘गृह प्रशासनको सक्रियतामाथि गम्भीर प्रश्न उठेको छ’
काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि मधेशका विभिन्न क्षेत्रमा फैलिएको तनावका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै गृह प्रशासनको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ।
रास्वपा नेता मनिष झाले पछिल्लो घटनाक्रममा राज्यको सक्रियता र तदारुकता अपेक्षाअनुसार नदेखिएको बताएका छन्। पार्टी सभापति रवि लामिछानेसँग मधेशका सांसदहरूको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै झाले गृह प्रशासनप्रति सडकबाट उठिरहेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने बताएका हुन्।
गृहमन्त्री सुधन गुरुङ स्वयं आन्दोलनबाट राजनीतिक यात्रामा आएका व्यक्ति भएकाले वर्तमान परिस्थितिलाई संवेदनशील रूपमा बुझ्नुपर्ने झाको भनाइ छ। उनले भने, ‘गृहमन्त्री आफैं आन्दोलन बुझ्नु भएको मान्छे हो । उहाँ आफैं पीडितसँग रोएको मान्छे हो।’
झाले सुनसरी घटनापछि राज्यले पीडित परिवारलाई तत्काल सम्बोधन गर्न नसकेको संकेत गर्दै मृतकका परिवारलाई सान्त्वना र क्षतिपूर्तिको विषयमा सरकारको भूमिका पर्याप्त नदेखिएको बताए।
उनका अनुसार घटनापछि देखिएको असन्तुष्टि सुनसरीमा मात्र सीमित रहेन। तनाव विस्तार हुँदै जनकपुरसम्म पुगेपछि अवस्था थप संवेदनशील बनेको उनले बताए।
धनुषा–३ का सांसदसमेत रहेका झाले जनकपुरको अवस्थाबारे चिन्ता व्यक्त गर्दै बजार तथा पसल बन्द रहेको र विभिन्न स्थानमा प्रदर्शन भइरहेको जानकारी दिए। उनका अनुसार चोकचोकमा विरोध प्रदर्शन भइरहेकाले जनकपुरको सुरक्षा अवस्था सहज नरहेको देखिएको छ।
सुनसरीबाट सुरु भएको घटनाको प्रभाव मधेशसम्म फैलिन थालेपछि रास्वपाकै सांसदहरूले सभापति लामिछानेसँग गृहमन्त्रीको कार्यशैलीबारे गुनासो गरेका थिए। सम्बन्धित क्षेत्रका सांसदहरूसँग समेत गृहमन्त्रीले पर्याप्त समन्वय नगरेको उनीहरूको असन्तुष्टि थियो।
पछिल्लो घटनाक्रमलाई समयमै नियन्त्रणमा लिन राज्यले प्रभावकारी समन्वय, संवाद र पीडितप्रति संवेदनशीलता देखाउनुपर्ने दबाब सरकारमाथि बढ्दै गएको छ।
