सामाजिक सद्भाव कायम गर्न रास्वपा सांसदलाई आ-आफ्नो क्षेत्रमा खटिन रविको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूलाई आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा पुगेर सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन् ।
सुनसरी घटनापछि कोशी र मधेशका विभिन्न क्षेत्रमा तनावको अवस्था देखिएपछि लामिछानेले बिहीबार सिंहदरबारमा दुवै प्रदेशका सांसदहरूलाई आकस्मिक रूपमा बोलाएर छलफल गरेका थिए ।
बैठकमा उनले पछिल्लो घटनाक्रमबारे जानकारी लिँदै स्थानीयस्तरमा सामाजिक सद्भाव कायम गर्न सांसदहरूले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको सांसद रहबर अन्सारीले बताए ।
उनका अनुसार लामिछानेले सांसदहरू काठमाडौंमै बसेर अवस्थाबारे टिप्पणी गर्नुभन्दा प्रभावित क्षेत्रमै पुगेर नागरिकसँग संवाद गर्न र सद्भावको वातावरण बनाउन भूमिका खेल्न निर्देशन दिएका छन् ।
सांसद अन्सारीले पार्टीका सांसदहरू अब आ–आफ्नो जिल्ला तथा क्षेत्रमा पुगेर स्थानीय प्रशासन र राज्यका सुरक्षा संयन्त्रसँग समन्वय गर्दै काम गर्ने बताए ।
उनले सामाजिक सद्भावमा खलल पुर्याउने तथा समुदायबीच द्वेष फैलाउने प्रयास हुन सक्ने भन्दै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।
सुनसरी घटनामा गोली चल्दा ज्यान गएको विषय दुःखद् भएको उल्लेख गर्दै अन्सारीले यस्तो घटनाले सामाजिक सद्भावमा थप असर पर्न नदिन सबै राजनीतिक दल र नागरिक जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।
उनका अनुसार देशमा सामाजिक सद्भाव कायम राख्नु कुनै एक दल वा समुदायको मात्रै जिम्मेवारी नभई सामूहिक दायित्व हो । मुलुकलाई एकताबद्ध राख्न सके मात्र सबै नागरिक सुरक्षित रहने उनको भनाइ छ ।
