मन्दिर परिसरमा पुरुष मृत भेटिएको घटनामा के भन्छ प्रहरी ?
जनकपुरधाम। धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा पुरुष मृत अवस्थामा फेला परेको घटना हाल जारी धार्मिक विवादसँग सम्बन्धित नरहेको प्रहरीले जनाएको छ।
मंगलबार राति अन्दाजी ४० वर्षीय बन्थु राउत कडेरी मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कडेरी मन्दिरका पुजारी नभई बाहिर कामकाज गर्ने र राति मन्दिरमा सुत्न आउने व्यक्ति थिए।
घटनाको जानकारी पाएलगत्तै कुकुरसहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटाएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट घटना आपराधिक मनसाय भएका व्यक्तिबाट भएको देखिएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले विज्ञप्ति जारी गर्दै घटनालाई धार्मिक विवादसँग नजोड्न आग्रह गरेका छन्।
प्रहरीले समाजमा शान्ति कायम राख्न सहयोग गर्न नागरिकलाई अपिल गर्दै घटनामा संलग्न जोसुकै भए पनि छिट्टै कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।
