`

तराई-मधेशका जिल्लामा उच्च अधिकृत खटाइए

Nepal One HD १५ साउन २०८३ १२:१४
राजनीति

काठमाडौं। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले तराई–मधेशका विभिन्न जिल्लामा उच्च अधिकृतहरू परिचालन गरेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेका अनुसार कर्फ्यु जारी भएका तराई–मधेशका जिल्ला तथा आसपासका क्षेत्रमा सिनियर अफिसरहरूलाई खटाइएको छ।

सुरक्षा अवस्था थप जटिल हुन नदिन र स्थानीय सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन उच्च अधिकृतहरूलाई सम्बन्धित क्षेत्रमा पठाइएको उनले बताए।

काफ्लेका अनुसार कर्फ्यु लागू भएका जिल्लाका साथै आसपासका जिल्लामा समेत सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन प्रहरीका उच्च अधिकृतहरू परिचालन गरिएको हो। उनीहरूले स्थानीय सुरक्षा अवस्थाको निरीक्षण गर्नुका साथै मातहतका सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सुरक्षा रणनीति अघि बढाउनेछन्।

त्यसैगरी, सशस्त्र प्रहरीले पनि तराई–मधेशका विभिन्न क्षेत्रमा उच्च अधिकृतहरूलाई परिचालन गरेको छ। सुरक्षा आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्न तराईका छिमेकी जिल्लाबाट समेत सुरक्षाकर्मी सम्बन्धित क्षेत्रमा पठाइएको छ।

कर्फ्यु तथा तनावग्रस्त क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाएर शान्ति–सुरक्षा कायम गर्ने, सम्भावित अप्रिय घटना रोक्ने तथा सर्वसाधारणको सुरक्षालाई प्राथमिकतामा राख्ने गरी सुरक्षा परिचालन गरिएको सुरक्षा निकायले जनाएको छ।

उच्च अधिकृतसहित थप सुरक्षाकर्मी परिचालन भएपछि सम्बन्धित जिल्लाको सुरक्षा अवस्था, संवेदनशील क्षेत्र तथा सम्भावित जोखिमको निरन्तर मूल्यांकन गरिने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *