रातभर गृहमन्त्रीको दौडधुपपछि कप्तानगञ्जमा ७ बुँदे सहमति
विराटनगर। सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि चर्किएको तनाव साम्य पार्न गृहमन्त्री सुधन गुरुङ रातभर सक्रिय भएका छन्।
बिहीबार साँझ विराटनगर आइपुगेका उनले सुरक्षा निकायका अधिकारी, स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा पीडित पक्षसँग लगातार छलफल गरेका थिए।
गृहमन्त्री गुरुङ बिहीबार साँझ करिब ७ बजे विराटनगर विमानस्थलमा अवतरण गरेका थिए। विमानस्थलमै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखबाट घटनाको पछिल्लो सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएपछि उनी घाइतेको अवस्था बुझ्न अस्पताल पुगे।

गृहमन्त्री गुरुङ न्यूरो अस्पताल विराटनगरमा उपचाररत घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका बेला अस्पतालबाहिर केही युवाले उनीविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनकारीले गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेपछि उनलाई केही समय अस्पतालबाट बाहिर निस्कनसमेत कठिन भएको थियो।
प्रहरीले प्रदर्शनकारीलाई सम्झाइबुझाइ गरेपछि उनी अस्पतालबाट बाहिरिएका थिए। त्यसपछि गृहमन्त्री गुरुङ देवानगञ्जतर्फ लागेका थिए।
राति करिब पौने १२ बजे देवानगञ्ज गाउँपालिकाको कार्यालय पुगेका उनले स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा सरोकारवालासँग घटनाबारे छलफल सुरु गरेका थिए।
कप्तानगञ्जका स्थानीयले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता गृहमन्त्रीले जनाएपछि रातभर चलेको छलफलबाट शुक्रबार बिहान करिब ४ बजे सहमतिको मस्यौदा तयार भएको थियो।
पछि मृतकका परिवारसँग समेत छलफल गरेपछि सहमतिमा थप एउटा बुँदा समेटिएको थियो। सरकार र पीडित परिवारबीच भएको सहमतिमा मृतकद्वय ओमप्रकाश र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्न पहल गर्ने, परिवारलाई राहत उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गर्ने विषय समेटिएका छन्।
सहमतिको मस्यौदामा मृतक परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, कप्तानगञ्जमा भएको घटनाको छानबिन गरी दोषी देखिएकामाथि कानुनी कारबाही गर्ने, मदरसासम्बन्धी विषयमा छानबिन गर्ने तथा मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने उल्लेख छ।

त्यस्तै, मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने र परिवारसँग भेटघाटपछि मृतकको अन्त्येष्टि गर्ने विषयसमेत सहमतिमा समेटिएको छ।
तनावपूर्ण अवस्था साम्य पार्न गृहमन्त्री गुरुङसँगै स्वास्थ्य मन्त्री निशा मेहता पनि रातभर सक्रिय रहेकी थिइन्। सांसद बब्लु गुप्ता, लालविक्रम थापा, स्थानीय जनप्रतिनिधि, कप्तानगञ्जका स्थानीय तथा सुरक्षा निकायका अधिकारीहरू पनि छलफलमा सहभागी भएका थिए।
लामो छलफलपछि सरकार र पीडित परिवारबीच सहमति जुटेपछि आन्दोलन रोकिएको छ।
पीडित परिवारसँग सहमति गरेपछि गृहमन्त्री गुरुङले कप्तानगञ्जमा झडप तथा गोली चलेको स्थानको निरीक्षणसमेत गरेका थिए। उनले घटनास्थलको अवस्थाबारे जानकारी लिनुका साथै आइतबार रातिदेखि सुरक्षा व्यवस्थामा खटिएका सुरक्षाकर्मीलाई भेटेर उनीहरूको हौसला बढाएका थिए।
कप्तानगञ्जबाट फर्कने क्रममा उनले बर्जु गाउँपालिकाका स्थानीयसँग समेत छोटो छलफल गरेका थिए।
यसरी बिहीबार साँझ विराटनगर आइपुगेदेखि शुक्रबार बिहानसम्म गृहमन्त्री गुरुङ लगातार छलफल, निरीक्षण र समन्वयमा व्यस्त रहे। उनले आज दिउँसो सिरहामा समेत जाने तयारी गरेका छन्। सिरहामा भएको घटनामा मृत्यु भएका युवकका परिवारसँग भेट गरी घटनाबारे जानकारी लिने कार्यक्रम रहेको बताइएको छ।
सरकार र पीडित परिवारबीच सहमति भएपछि आइतबार रातिदेखि सुरु भएको आन्दोलन रोकिएको छ। कप्तानगञ्ज क्षेत्रको अवस्था पनि सामान्य बन्दै गएको सुरक्षा निकायले जनाएको छ।
तर, सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश तत्काल हटाएको छैन।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार सहमतिपछि कप्तानगञ्जको अवस्था सामान्य रहेको भए पनि संवेदनशीलतालाई ध्यानमा राखेर कर्फ्यु यथावत् राखिएको छ।




