`

मधेशकेन्द्रित दलका नेतासँग छलफलमा प्रधानमन्त्री

Nepal One HD १५ साउन २०८३ १३:३१
फोटोफिचर

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले सुनसरीसहित मधेशका केही जिल्लामा पछिल्लो समय देखिएको तनाव समाधानका विषयमा मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल थालेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा मधेशका विभिन्न राजनीतिक दल तथा नेताहरू सहभागी छन्।

छलफलमा महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, सीके राउत, समिम मियाँ अन्सारी, रामकुमार शर्मा, प्रभु साह, शरतसिंह भण्डारी र जयकान्त राउत सहभागी छन्।

त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कम्युनिस्ट पार्टीका मातृका यादव र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पनि छलफलमा सहभागी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसद अमरेशकुमार सिंहसमेत छलफलमा सहभागी भएका छन्।

सुनसरीको देवानगन्ज–कप्तानगन्ज क्षेत्रबाट सुरु भएको विवाद तथा त्यसपछि मधेशका विभिन्न जिल्लामा देखिएको तनावका कारण पछिल्लो समय सुरक्षा अवस्था संवेदनशील बनेको छ। झडप, प्रदर्शन तथा विरोधका घटनाका कारण केही क्षेत्रमा जनजीवन प्रभावित भएपछि सरकारले तनाव नियन्त्रण तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल थालेको हो।

प्रधानमन्त्री शाहले छलफलमार्फत राजनीतिक दलका नेताहरूबाट पछिल्लो अवस्थाबारे सुझाव लिने तथा तनाव अन्त्य गरी शान्ति र सामाजिक सद्भाव कायम गर्ने उपायबारे सहमति जुटाउने प्रयास गरिरहेका छन्।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *