`

…जब बालेनलाई सोधियो ‘गोली चलाउन कसले आदेश दियो?’

Nepal One HD १५ साउन २०८३ १३:४६
बिशेष

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलका नेताहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री बनेपछि राजनीतिक दलका नेताहरूसँग उनको यो दोस्रो औपचारिक संवाद हो।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका प्रधानमन्त्री शाहले देशका विभिन्न क्षेत्रमा तनाव बढ्दै गएपछि अन्य दलका नेताहरूसँग समेत संवाद अघि बढाएका हुन्।

शुक्रबारको छलफलमा मधेसवादी दलका नेताहरूले सुनसरीको देवानगन्ज–कप्तानगन्ज क्षेत्रमा भएको घटनामा प्रहरीले चलाएको गोलीबारे प्रधानमन्त्रीसँग जवाफ मागेका छन्।

बैठकमा सहभागी नेता राजेन्द्र महतोका अनुसार आन्दोलनकारीमाथि गोली चलाउँदा कम्मरभन्दा तलको भागलाई लक्ष्य गर्नुपर्ने सामान्य सुरक्षा अभ्यास भए पनि घटनामा कम्मरमाथि, छाती र टाउकोतर्फ गोली प्रहार भएको भन्दै नेताहरूले प्रश्न उठाएका थिए।

उनीहरूले आन्दोलनकारीलाई लक्षित गरी कम्मरमाथि गोली चलाउन आदेश कसले दिएको हो भन्ने विषयमा प्रधानमन्त्रीसँग स्पष्ट जवाफ मागेका छन्।

सुनसरीको देवानगन्जमा गत आइतबार राति भएको घटनापछि त्यसको असर मधेस प्रदेशका विभिन्न जिल्लामा समेत देखिएको छ। झडप, प्रदर्शन तथा अन्य तनावपूर्ण गतिविधिका कारण केही क्षेत्रमा जनजीवन प्रभावित भएपछि सरकारमाथि तत्काल कदम चाल्न दबाब बढेको हो।

बैठकमा सहभागी नेताहरूले घटनापछि प्रधानमन्त्री शाह लामो समयसम्म मौन बसेको विषयमा समेत प्रश्न उठाएका थिए। पाँच दिनसम्म सरकारको नेतृत्वबाट पर्याप्त सक्रियता नदेखिनुको कारणबारे उनीहरूले प्रधानमन्त्रीसँग जवाफ मागेको बताइएको छ।

मधेसवादी दलका नेताहरूले घटनामा सरकार र सुरक्षा निकाय दुवैबाट गम्भीर कमजोरी भएको दाबी गर्दै सुरक्षा निकायका जिम्मेवार व्यक्तिमाथि छानबिन गर्नुपर्ने मागसमेत राखेका छन्।

गत आइतबारदेखि सुरु भएको तनावपूर्ण घटनामा राजनीतिक स्वार्थसमेत जोडिएको हुन सक्ने आशंका नेताहरूले प्रधानमन्त्रीसमक्ष राखेका थिए। घटनाको वास्तविक कारण पहिचान गर्न निष्पक्ष छानबिन गर्नुपर्ने र दोषी देखिएकामाथि कारबाही हुनुपर्ने उनीहरूको जोड थियो।

प्रधानमन्त्री शाहले भने पछिल्लो सुरक्षा अवस्था, घटनाको कारण तथा तनाव नियन्त्रणका लागि सरकारले चालिरहेका कदमबारे नेताहरूसँग छलफल गरेका थिए।

देशका विभिन्न क्षेत्रमा देखिएको तनाव समाधानका लागि राजनीतिक संवाद र सहकार्यलाई अघि बढाउने प्रयासस्वरूप छलफल गरिएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *