`

कांग्रेसभित्रको किचलो अन्त्य गर्न ‘देश र कांग्रेस जोड्ने अभियान’

Nepal One HD १७ साउन २०८३ १२:५२
नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक असमझदारी र गुटगत विवाद अन्त्य गरी पार्टीलाई पुनः संगठित बनाउने उद्देश्यले ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरिएको छ।

अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा सुदृढ बनाउँदै कार्यकर्ता तथा जनतासँगको सम्बन्ध पुनः स्थापित गर्ने लक्ष्य अघि सारेको छ।

अभियानले पत्रकार सम्मेलनमार्फत आगामी साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने जानकारी दिएको हो। आयोजकका अनुसार भेलामार्फत कांग्रेसभित्र देखिएको अविश्वास र आन्तरिक द्वन्द्वबारे छलफल गर्दै पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने कार्ययोजना तय गरिनेछ।

अभियानका नेता नैनसिंह महरले लामो समयदेखि देखिँदै आएको आन्तरिक विवादका कारण कांग्रेसको संगठन कमजोर बन्दै गएको बताए। उनका अनुसार पार्टीभित्रको किचलोले संगठन मात्र होइन, जनतासँग कांग्रेसको सम्बन्धसमेत प्रभावित भएको छ।

अभियानले जारी गरेको वक्तव्यमा मुलुक अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरिएको छ। सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लामा फैलिनु, आर्थिक गतिविधिमा आएको मन्दी, बेरोजगारी, युवाको विदेश पलायन र सुशासनसम्बन्धी प्रश्नले नागरिकमा निराशा बढाएको अभियानको निष्कर्ष छ।

यस्तो अवस्थामा सरकार जनताका समस्या समाधान गर्न प्रभावकारी हुन नसकेको र प्रमुख प्रतिपक्ष कांग्रेस भने आफ्नै आन्तरिक विवादमा केन्द्रित हुनु थप चिन्ताको विषय भएको अभियानले जनाएको छ।

वक्तव्यमा कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक शक्तिहरू कमजोर हुने र त्यसको फाइदा प्रतिगामी शक्तिले उठाउन सक्ने तर्क गरिएको छ। यही परिस्थितिलाई ध्यानमा राखेर पार्टीभित्र एकता र पुनर्जागरणको अभियान सुरु गरिएको आयोजकहरूको भनाइ छ।

आयोजकका अनुसार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने राष्ट्रिय एकता भेलामा देशभरका प्रतिनिधिलाई सहभागी गराउने तयारी गरिएको छ।

भेलामा ७५३ स्थानीय तह, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने आयोजकले जनाएको छ। विभिन्न तह, वर्ग र समुदायका प्रतिनिधिलाई समेत सहभागी गराएर कांग्रेसको वर्तमान अवस्था र आगामी दिशाबारे व्यापक छलफल गर्ने तयारी गरिएको छ।

भेलाले पार्टीभित्रको एकतालाई संस्थागत गर्ने, संगठनलाई चलायमान बनाउने र जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउने विषयमा कार्ययोजना तयार गर्ने आयोजकहरूको भनाइ छ।

अभियानका आयोजकहरूले यसलाई कुनै व्यक्ति, समूह वा पद प्राप्तिको अभियान नभएको स्पष्ट पारेका छन्। उनीहरूका अनुसार अभियानको मूल उद्देश्य कांग्रेसलाई एकताबद्ध बनाउँदै लोकतान्त्रिक मूल्य र जनताको अपेक्षासँग पार्टीलाई पुनः जोड्नु हो।

‘एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपाल’लाई अभियानको साझा संकल्पका रूपमा अघि सारिएको छ।

कांग्रेसभित्र नेतृत्व, संगठन सञ्चालन र आगामी राजनीतिक दिशालाई लिएर विभिन्न तहमा मतभेद देखिँदै आएको अवस्थामा सुरु गरिएको यो अभियानले पार्टीभित्रको असन्तुष्टिलाई एउटै मञ्चमा ल्याएर समाधान खोज्ने प्रयास गरेको छ।

अब साउन २० गते हुने राष्ट्रिय एकता भेलाले कांग्रेसभित्रको गुटगत दूरी घटाउन कस्तो भूमिका खेल्छ र त्यसबाट पार्टीको संगठनात्मक तथा राजनीतिक दिशामा कस्तो प्रभाव पर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

तस्वीरहरू:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *