मौसमले छेक्यो ब्रोड पिक उद्धार, निम्सदाइसहितका शव अझै हिमालमै
काठमाडौं। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित ब्रोड पिकमा ज्यान गुमाएका आरोहीहरूको शव संकलनमा मौसम र भौगोलिक कठिनाइ मुख्य बाधक बनेको छ। मृत्यु पुष्टि भइसके पनि जोखिमपूर्ण क्षेत्रमा रहेका शवलाई सुरक्षित स्थानसम्म ल्याउने काम अझै पूरा हुन सकेको छैन।
पाकिस्तानको काराकोरम क्षेत्रमा पर्ने विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा क्याम्प–३ भन्दा केही तल भीषण हिमपहिरो गएपछि निम्सदाइसहित ६ नेपाली र अन्य विदेशी आरोहीको मृत्यु भएको थियो। घटनापछि उद्धार टोलीले केही शव फेला पारे पनि सबैलाई आधार शिविरसम्म ल्याउन सकेको छैन।
ब्रोड पिकको माथिल्लो क्षेत्रमा लगातार हिमपात भइरहेको छ। तीव्र हावा, बाक्लो बादल र कमजोर दृश्यताका कारण हेलिकप्टरबाट गरिने उद्धार प्रभावित भएको उद्धार अभियानमा संलग्न पर्वतारोहीहरूले बताएका छन्।
विशेषगरी जोखिमपूर्ण स्थानबाट शव निकाल्न प्रयोग गरिने ‘लङलाइन’ प्रविधिका लागि स्थिर मौसम आवश्यक पर्छ। हेलिकप्टरबाट लामो डोरी झुन्ड्याएर तल रहेका उद्धारकर्मी वा शवलाई सुरक्षित स्थानमा सार्ने यो प्रविधि तीव्र हावा र कम दृश्यतामा प्रयोग गर्न कठिन हुन्छ।
सगरमाथा आरोही तथा माउन्टेन गाइड पेम्बा शेर्पाका अनुसार स्कार्दुस्थित सैन्य आधारबाट ब्रोड पिकतर्फ पठाउने तयारी गरिएका पाकिस्तानी सेनाका हेलिकप्टर प्रतिकूल मौसमका कारण पटकपटक उडान रद्द गर्न बाध्य भएका छन्।
उनका अनुसार पाकिस्तानमा उच्च हिमाली उद्धारका लागि निजी हेलिकप्टरको उपलब्धता नेपालमा जस्तो सहज छैन। सरकारी तथा सैन्य हेलिकप्टरमा निर्भर रहनुपर्ने भएकाले आवश्यक अनुमति र प्रशासनिक प्रक्रियाले पनि उद्धारको समय प्रभावित पार्न सक्छ।
उद्धारमा संलग्न मिङ्मा ग्याल्जे शेर्पाका अनुसार केही शव करिब ५ हजार मिटरको उचाइमा अत्यन्तै जोखिमपूर्ण भिरालो क्षेत्रमा अड्किएका छन्।
त्यसमध्ये निर्मल पुर्जा ‘निम्सदाइ’, चिनियाँ आरोही वाङ जोङ र नेपाली आरोही निमा शेर्पाको शव रहेको बताइएको छ। यसअघि उद्धार टोलीले करिब ५ हजार ७ सय मिटरको उचाइबाट चार शव तल्लो क्षेत्रमा ल्याउन सफल भएको थियो।
किली पेम्बा शेर्पा र ग्यालु शेर्पाको शव भने अहिले तुलनात्मक रूपमा सुरक्षित स्थानमा राखिएको छ। तर माथिल्लो क्षेत्रमा रहेका शवलाई तल झार्दा थप हिमपहिरोको जोखिम रहेकाले उद्धार टोलीले अत्यन्तै सावधानी अपनाउनुपर्ने अवस्था छ।
हिमपहिरोपछि जोखिम बढेपछि धेरै अन्तर्राष्ट्रिय उद्धार टोली तथा व्यावसायिक एजेन्सीहरू ब्रोड पिकबाट फर्किएका छन्। तर मिङ्मा ग्याल्जे शेर्पाको नेतृत्वमा रहेको नेपाली शेर्पा र पाकिस्तानी आरोहीको टोली भने उद्धारका लागि घटनास्थलमै रहेको छ।
उद्धार टोलीले हेलिकप्टरबाट सम्भव नभए स्थलमार्गबाटै शव निकाल्ने प्रयास जारी राखेको जनाएको छ। अत्यधिक जोखिमका बाबजुद परिवारको आग्रह र मृतक आरोहीप्रतिको सम्मानका कारण उद्धार अभियान नरोकिने टोलीको भनाइ छ।
अल्पाइन क्लब अफ पाकिस्तानले पनि प्रतिकूल मौसम र हिमपहिरोको जोखिमबीच उद्धारमा खटिएका नेपाली शेर्पा तथा पाकिस्तानी आरोहीहरूको साहसको प्रशंसा गरेको छ।
अल्पाइन क्लब अफ पाकिस्तानको पछिल्लो विवरणअनुसार उद्धार टोलीले हालसम्म चार आरोहीको शव पहिचान गरेको छ। तीमध्ये दुई शव ब्रोड पिकको बेसक्याम्पसम्म ल्याइएको छ।
तीन शव करिब ५ हजार मिटरको जोखिमपूर्ण भिरालो क्षेत्रमा रहेका छन् भने अर्को शव गहिरो खोँचमा अड्किएको बताइएको छ। हालको भौगोलिक अवस्था र मौसमका कारण उक्त स्थानमा पुग्न निकै कठिन रहेको उद्धार टोलीको आकलन छ।
पाकिस्तानी आरोही सोहैल सखी र अमेरिकी आरोही म्यालोरी गाइस भने अझै बेपत्ता छन्। उनीहरूको खोजी पनि प्रतिकूल मौसमका कारण प्रभावित भएको छ।
पाकिस्तानी सेना, अल्पाइन क्लब अफ पाकिस्तान र स्थानीय प्रशासनले हेलिकप्टर उद्धारका लागि आवश्यक तयारी गरिरहेका छन्। तर मौसममा सुधार नआएसम्म हवाई उद्धार सम्भव हुने अवस्था देखिएको छैन।
त्यसैले तत्कालका लागि उद्धार टोली स्थलमार्गमै निर्भर छ। ब्रोड पिकको कठिन भूगोल, निरन्तरको हिमपात र थप हिमपहिरोको जोखिमबीच निम्सदाइसहित बाँकी आरोहीका शवलाई सुरक्षित स्थानमा ल्याउनु उद्धार टोलीका लागि ठूलो चुनौती बनेको छ।
