`

बैंकिङ प्रणालीबाट ८५ अर्ब उठाउँदै राष्ट्र बैंक

Nepal One HD २० साउन २०८३ १२:३९
अर्थ समाचार

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ८५ अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप सङ्कलनका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’मार्फत बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल आह्वान गरिएको छ। बोलकबोलबाटै निक्षेपको ब्याजदर निर्धारण हुनेछ।

राष्ट्र बैंकले सङ्कलन गर्ने रकमको साँवा र ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गर्ने जनाएको छ। यस उपकरणमार्फत बैंकिङ प्रणालीमा तत्काल उपलब्ध रहेको अतिरिक्त रकम केही समयका लागि राष्ट्र बैंकमा तानिनेछ।

निक्षेप सङ्कलनमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदर प्रस्ताव गर्दै एकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

बोलकबोलका लागि न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँको गुणाङ्कमा कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ।

बैंकिङ प्रणालीमा कर्जाको मागभन्दा निक्षेप तथा लगानीयोग्य रकम बढी हुँदा बजारमा अतिरिक्त तरलता बढ्न सक्छ। यस्तो अवस्थामा केन्द्रीय बैंकले निक्षेप सङ्कलनलगायत मौद्रिक उपकरण प्रयोग गरेर बजारमा रहेको अतिरिक्त रकम व्यवस्थापन गर्दै आएको छ।

यसपटक ८५ अर्ब रुपैयाँ प्रणालीबाट तान्ने निर्णयले बैंकिङ प्रणालीमा उपलब्ध तरलताको मात्रा घटाउने र मौद्रिक व्यवस्थापनलाई थप सन्तुलित बनाउने उद्देश्य राखेको देखिन्छ।

बैंक तथा वित्तीय संस्थाले भने राष्ट्र बैंकले तोकेको प्रक्रियामार्फत प्रतिस्पर्धात्मक ब्याजदरमा रकम राख्न सक्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *