`

काठमाडौँका सडकमा असरल्ल तार (तस्वीरहरू)

Nepal One HD २० साउन २०८३ १२:५२
अर्थ समाचार

काठमाडौं। काठमाडौंका सडक र बजार क्षेत्र यतिबेला टेलिफोन, इन्टरनेट तथा बिजुलीका अव्यवस्थित तारले भरिएका छन्।

सडक किनारका पोलदेखि भवनका भित्तासम्म जथाभावी झुन्डिएका तारले राजधानीको सौन्दर्य बिगार्नुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको छ।

काठमाडौंमा अव्यवस्थित तारको समस्या नयाँ होइन। सेवा प्रदायकबीच समन्वयको अभाव, योजनाविहीन पूर्वाधार विस्तार, प्रयोगमा नरहेका पुराना तार नहटाइनु, पोलको सीमित क्षमता तथा भूमिगत पूर्वाधारको कमीका कारण वर्षौंदेखि समस्या जटिल बन्दै गएको हो।

समस्या समाधानका लागि नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ अन्तिममा काठमाडौंका ६ वटा प्रमुख रुटमा रहेका टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापन गर्ने योजना अघि सारेको थियो। त्रिपुरेश्वर–कालिमाटी–कलंकी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रलाई प्राथमिकतामा राखिएको थियो।

गत असार अन्तिममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संयुक्त बैठकमार्फत साउन १५ भित्र तार व्यवस्थापनको काम सक्न प्राधिकरणलाई निर्देशनसमेत दिएका थिए।

तर, तोकिएको समयसीमा बितिसक्दा पनि सडकका तारको अवस्था अपेक्षाअनुसार सुधार हुन सकेको छैन। प्राधिकरणले काम सम्पन्न गर्न थप समय लाग्ने र साउन मसान्तसम्म व्यवस्थापनको काम सक्ने जनाएको छ।

सडकमा जथाभावी झुन्डिएका तारले काठमाडौंको दृश्यलाई मात्र कुरुप बनाएको छैन, दुर्घटनाको जोखिमसमेत बढाएको छ। तार चुँडिने, करेन्ट लाग्ने तथा आगलागी हुने सम्भावना अव्यवस्थित तारका कारण बढ्ने गरेको छ।

त्यसैगरी, मर्मतका क्रममा कुन तार कुन सेवा प्रदायकको हो भन्ने पहिचान गर्न कठिन हुँदा प्राविधिकलाई थप समस्या हुने गरेको छ। एउटा तार व्यवस्थापन वा मर्मत गर्दा अर्को सेवा प्रभावित हुने र सेवा अवरुद्ध हुने समस्या पनि देखिन्छ।

प्राधिकरणले सेवा प्रदायकलाई आफ्ना तारमा कम्पनीको पहिचान खुल्ने ट्याग राख्न निर्देशन दिएको थियो। तर, यो व्यवस्था पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।

काठमाडौंका सडकमा तार व्यवस्थापन गर्ने विषयमा सरकारी निकायबाट पटक–पटक योजना र निर्देशन आउने गरेका छन्। तर, समयसीमा तोकिए पनि त्यसअनुसार काम अघि नबढ्दा समस्या जस्ताको तस्तै देखिएको छ।

नयाँबजार, स्वयम्भू, बानेश्वरलगायत काठमाडौंका विभिन्न क्षेत्रमा अहिले पनि तारका गुजुल्टा सडकछेउका पोल र भवनमा असरल्ल देखिन्छन्।

व्यवस्थित सहर निर्माणको चर्चा भइरहेका बेला राजधानीको सडकमा देखिने यस्ता अव्यवस्थित तारले पूर्वाधार व्यवस्थापनको कमजोरीसमेत उजागर गरिरहेको छ।


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *