पानीको बहाव दुई लाख क्युसेक नाघ्यो, कोसी ब्यारेजका २८ ढोका खोलिए
काठमाडौं। पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ।
कोसी ब्यारेजमा बिहीबार मध्याह्न गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड दुई लाख नौ हजार ५१० क्युसेक पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार दिउँसो १२ बजे गरिएको मापनमा कोसी ब्यारेजमा बहाव दुई लाख नौ हजार ५१० क्युसेक पुगेको हो।
बहाव बढेसँगै कोसी ब्यारेजका २८ वटै ढोका खोलिएको छ। नदीमा पानीको सतह बढेपछि ब्यारेज क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
कोसी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ। बिहीबार बहाव उक्त सीमाभन्दा निकै माथि पुगेपछि ब्यारेजमा रातो बत्ती बालिएको हो।
लगातारको वर्षाका कारण सप्तकोसीमा अझै पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
