`

‘आन्दोलनमा बल प्रयोगको मापदण्डबारे अझै स्पष्टता छैन’ – गगन थापा

Nepal One HD २२ साउन २०८३ २०:२७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको द ग्रिन टेबल’ को १५औँ श्रृंखलामा ‘आन्दोलन र सुरक्षा संयन्त्रः व्यावसायिकता, विश्वास र सार्वजनिक सुरक्षा’ विषयमा छलफल गरिएको छ।

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सभापति गगनकुमार थापाले आन्दोलनका क्रममा सुरक्षा निकायले गर्ने बल प्रयोगको मापदण्डबारे अझै स्पष्ट उत्तर नपाएको बताएका छन्।

गत भदौ २३ र २४ गते भएका घटनालाई स्मरण गर्दै उनले प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको थियो वा कम बल प्रयोग गरेर अवस्था नियन्त्रण गर्न सकिन्थ्यो भन्ने विषयमा गम्भीर बहस आवश्यक रहेको बताए।

उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमाथि छलफल भए पनि आफ्नो जिज्ञासाको स्पष्ट जवाफ अझै नपाएको उल्लेख गरे।

‘गत भदौ २३ र २४ गते जे देखियो र भोगियो, त्यसबारे मेरो मनमा अझै एउटा प्रश्न छ। प्रहरीले कम बल प्रयोग गर्न सक्थ्यो कि सक्दैनथ्यो ? त्यति धेरै बल प्रयोग आवश्यक थियो कि थिएन ? प्रतिवेदनहरू आए, छलफल पनि भयो, तर यसको स्पष्ट उत्तर मैले अझै भेटेको छैन। त्यसैले यो विषयमा थप गम्भीर बहस हुन आवश्यक छ,’ थापाले भने।

थापाले मधेस केन्द्रित आन्दोलनमा बारम्बार बल प्रयोग हुने गरेको उल्लेख गर्दै त्यसको कारणबारे पनि खुला बहस हुनुपर्ने धारणा राखे। प्रहरी संगठनभित्र मधेसलाई हेर्ने दृष्टिकोण वा मानसिकताका कारण अत्यधिक बल प्रयोग भएको हो कि भन्ने प्रश्न पनि उठाउनुपर्ने उनले बताए।

उनले आन्दोलन व्यवस्थापनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाको भूमिकाबारे पनि समीक्षा आवश्यक रहेको उल्लेख गर्दै सुनसरी घटनामा सेना परिचालन गरिएको विषयले समेत प्रश्न उठाएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *