‘तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ’
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई कुनै पनि प्रकारको दबाब, डर वा प्रलोभनबाट प्रभावित पार्न नसकिने बताएका छन्।
पार्टीभित्र आगामी महाधिवेशन, नेतृत्वको वैधानिकता र विशेष महाधिवेशनसँग सम्बन्धित विवाद चलिरहेका बेला थापाले आफू पार्टी विधानअनुसार अघि बढ्ने स्पष्ट पारेका हुन्।
आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले आफू पार्टीको विधानभन्दा माथि नरहेको बताए। उनले पार्टीका सबै निर्णय र गतिविधि विधान तथा स्थापित प्रक्रियाअनुसार अघि बढाउनुपर्नेमा जोड दिए।
थापाले आफूलाई दबाब दिएर वा डर देखाएर आफ्नो अडान परिवर्तन गराउन नसकिने संकेत गर्दै पार्टीभित्र विधि र प्रक्रियालाई प्राथमिकता दिने बताए। उनका अनुसार कांग्रेसको नेतृत्व र संगठन सञ्चालनमा व्यक्तिगत दबाबभन्दा विधानको व्यवस्था महत्वपूर्ण हुन्छ।
पार्टीभित्रको विवाद समाधानका क्रममा पुराना नेताहरूको योगदानलाई सम्मान गर्नुपर्नेमा पनि थापाले जोड दिए। उनले पूर्वसभापति शेरबहादुर देउवासहित विगतमा पार्टी नेतृत्व गरेका नेताहरूले कांग्रेस निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनीहरूको योगदानलाई अवमूल्यन गर्न नहुने बताए।
तर, विगतको योगदानलाई सम्मान गर्नुको अर्थ पार्टीभित्र कसैलाई पहिलो र कसैलाई दोस्रो दर्जाको व्यवहार गर्नु नभएको उनको भनाइ थियो। कांग्रेसलाई सबै नेता, कार्यकर्ता र समूहलाई समेटेर अघि बढाउनुपर्ने उनले बताए।
थापाले आगामी पन्ध्रौँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय बनाउनुपर्नेमा विशेष जोड दिएका छन्। विशेष महाधिवेशनमा सहभागी भएका तथा सहभागी नभएका दुवै पक्षका नेता–कार्यकर्तालाई आगामी महाधिवेशन प्रक्रियामा समान रूपमा सहभागी गराउनुपर्ने उनको धारणा छ।
महाधिवेशनको प्रक्रिया निष्पक्ष भएमा पार्टीभित्र देखिएको विवाद क्रमशः समाधान हुने उनको विश्वास छ। सदस्यता विवाद टुंग्याउने कामसमेत अघि बढिसकेको उल्लेख गर्दै उनले अब महाधिवेशनसँग सम्बन्धित बाँकी प्रक्रियामा कुनै प्रकारको पक्षपात हुन नहुने बताए।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले सदस्यता विवाद समाधानका लागि काम गरेको उल्लेख गर्दै थापाले संगठनको तल्लो तहसम्मका कार्यकर्ताको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए।
उनले पार्टीका सामान्य कार्यकर्तामाथि आफूलाई विश्वास रहेको पनि बताए। निर्वाचनमा पार्टी नेतृत्वमै रहेका केही व्यक्तिले समेत मत नदिएको वा अन्तरघात गरेको आरोप लगाउँदै उनले आगामी दिनमा नयाँ पुस्ता, विभिन्न जाति तथा समुदाय र फरक पृष्ठभूमिका व्यक्तिलाई कांग्रेसको संगठनमा जोड्दै लैजानुपर्ने धारणा राखे।
थापाले कांग्रेसको दोस्रो विशेष महाधिवेशनसँग जोडिएको सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियालाई पार्टीले कानुनी रूपमा सामना गर्ने बताएका छन्।
उनका अनुसार विशेष महाधिवेशन विधानसम्मत, आवश्यक र औचित्यपूर्ण आधारमा सम्पन्न भएको हो। विशेष महाधिवेशनपछि त्यसबाट भएका निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गरेको र आयोगले पनि त्यस प्रक्रियालाई मान्यता दिएको उनको दाबी छ।
विशेष महाधिवेशनको निर्णयविरुद्ध असन्तुष्ट पक्ष अदालत पुगेपछि सर्वोच्च अदालतबाट समेत त्यससम्बन्धी आदेश आएको थापाले बताए। तर, पछिल्लो चरणमा उक्त विषयमा पुनरावलोकन गर्ने निर्णय भएपछि कांग्रेसले अब अदालतमा आफ्नो पक्ष मजबुत रूपमा प्रस्तुत गर्ने उनको भनाइ छ।
थापाले अदालतमा जाने विषयलाई पार्टीले आत्मविश्वासका साथ सामना गर्ने बताए। उनका अनुसार कानुनी प्रक्रियाबाट आएको निर्णयलाई संस्थागत रूपमा सम्मान गर्दै पार्टीले आफ्नो पक्ष र तर्क अदालतसमक्ष राख्नुपर्छ।
विशेष महाधिवेशनसम्बन्धी विवादमा राजनीतिक व्यक्तिहरूले दिने अभिव्यक्तिभन्दा संवैधानिक तथा न्यायिक संस्थाको निर्णयलाई आधार मान्नुपर्ने थापाको भनाइ छ।
सरकारमा रहेका व्यक्तिहरूले अदालतको विषयमा गरेका टिप्पणीलाई भन्दा सर्वोच्च अदालतजस्ता संवैधानिक संस्थाप्रति विश्वास गर्नुपर्ने उनले बताए। उनले विगतमा पनि कांग्रेसका नेता बीपी कोइरालाले न्यायिक संस्थाप्रति विश्वास गरेको प्रसंग उल्लेख गर्दै कानुनी प्रक्रियालाई सम्मान गर्नुपर्ने धारणा राखे।
थापाले विशेष महाधिवेशनमा सहभागी नभएका नेता तथा कार्यकर्तालाई समेत पार्टी नेतृत्व र आगामी संगठनात्मक प्रक्रियामा सहभागी हुन आग्रह गरे।
पार्टीभित्र कुनै पनि समूहलाई अलग राखेर कांग्रेस बलियो बन्न नसक्ने भन्दै उनले सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
तस्वीरहरू:













