‘घेराबन्दी होइन, जवाफदेही बनाउन खोजेका हौँ’
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन दबाब बढाएको छ।
कांग्रेस सांसद रेनुका काउचाले सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रधानमन्त्रीलाई रुलिङमार्फत सदनमा बोलाउन माग गरेकी हुन्।
काउचाले प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिन बोलाउनु सरकारलाई कमजोर बनाउने नभई प्रधानमन्त्री र सभामुख पदको गरिमा कायम गर्ने प्रयास भएको बताइन्। उनले आफूहरूले प्रधानमन्त्रीको घेराबन्दी गर्न नभई सरकारलाई जवाफदेही बनाउन खोजेको स्पष्ट पारिन्।
‘प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्। हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौँ,’ उनले भनिन्।
प्रधानमन्त्री शाहप्रति प्रतिपक्ष सकारात्मक रहेको संकेत दिँदै काउचाले मुलुकको हितमा अघि बढे सरकारलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन्। उनले प्रधानमन्त्री एक्लो नरहेको भन्दै प्रतिपक्ष आवश्यक पर्दा साथमा उभिने बताइन्।
तर, त्यसका लागि सरकारले संविधान र संसद्को मर्यादा कायम राख्नुपर्ने उनको जोड थियो। ‘संविधानभन्दा माथि कोही छैन, संसद्भन्दा ठूलो राजनीतिक मञ्च छैन र राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन,’ उनले भनिन्।
कांग्रेसले विशेषगरी प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै आएको छ। प्रतिनिधिसभामा उक्त विषय पटक–पटक उठे पनि प्रधानमन्त्रीबाट अहिलेसम्म स्पष्ट जवाफ नआएको भन्दै प्रतिपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन्।
काउचाले प्रधानमन्त्रीसँग जवाफ माग्नु राजनीतिक विरोधका लागि मात्र नभएको दाबी गरिन्। उनका अनुसार संसद्मा उठेका गम्भीर विषयको जवाफ दिने दायित्व सरकारको हो र त्यसबाट प्रधानमन्त्री पनि पन्छिन नमिल्ने उनको भनाइ छ।
युवा पुस्ताबाट आएका प्रधानमन्त्रीप्रति आफूहरूको अपेक्षा रहेको उल्लेख गर्दै उनले सरकार असफल हुने अवस्था आउन नदिन प्रधानमन्त्रीले सत्य स्वीकार गर्ने र गल्ती भए सच्याउने राजनीतिक साहस देखाउनुपर्ने बताइन्।
