‘गगन नै सभापति हुन्, भ्रम नपालौँ’ [भिडियो]
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको सभापति र केन्द्रीय समितिको वैधानिकताबारे कुनै भ्रम वा अन्योलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित दोस्रो झापा-१ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पार्टीको विशेष महाधिवेशन र त्यसबाट भएका निर्णयलाई लिएर अनावश्यक विवाद सिर्जना गर्न नहुने धारणा राखे।
उनले विधिसम्मत रूपमा सम्पन्न भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत मान्यता प्राप्त भइसकेको दाबी गर्दै पार्टीको वैधानिकताका विषयमा प्रश्न उठाइरहन आवश्यक नरहेको बताए।
शर्माले सर्वोच्च अदालतको निर्णय सबै पक्षले स्वीकार गर्नुपर्ने उल्लेख गर्दै अदालतले कांग्रेसको केन्द्रीय समितिलाई बदर नगरेको र गगन थापा नै पार्टीको आधिकारिक सभापति रहेको विषय स्पष्ट भइसकेको जिकिर गरे। उनले पार्टीभित्र फरक धारणा राख्ने समूहलाई समेत अदालतको निर्णयलाई आधार बनाएर अघि बढ्न आग्रह गरे।
पार्टी विभाजन हुन सक्ने चर्चाबारे पनि शर्माले त्यसको सम्भावना नरहेको बताए। कांग्रेसभित्र उत्पन्न हुने विवाद समाधानको आधार पार्टीको विधान र स्थापित कानुनी प्रक्रिया नै हुने उनको भनाइ थियो।
राजनीतिक विवादमा अन्तिम निर्णय गर्ने निकायका रूपमा निर्वाचन आयोग र सर्वोच्च अदालतको भूमिकालाई उनले खेलकुदसँग तुलना गरे।
फुटसलमा खेलको नियम उल्लंघन हुँदा दर्शकले नभई रेफ्रीले मात्र पहेँलो वा रातो कार्ड देखाउन पाउने उदाहरण दिँदै शर्माले राजनीतिक दलको वैधानिकता र आधिकारिकताबारे निर्णय गर्ने अधिकार पनि सम्बन्धित संवैधानिक तथा कानुनी निकायसँग मात्रै हुने बताए।
उनले कांग्रेसमा आन्तरिक मतभिन्नता भए पनि विधिको शासन र संस्थागत प्रक्रियालाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिए।
पार्टीभित्रको विवादलाई व्यक्तिगत टकरावभन्दा पनि विधि र प्रक्रियामार्फत समाधान गर्नुपर्ने शर्माको धारणा थियो।
भिडियो:
